पाँचथर । सदरमुकाम फिदिममा मंगलबार लालमोहर दिवश मनाइएको छ । वि.सं. १८३१ साउन २२ गते तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बुवान बीच भएको लालमोहर सन्धिको सम्झनामा लिम्बू विद्यार्थी मञ्च पाँचथरको आयोजनामा दिवश मनाइएको हो ।
फिदिम स्थित तमोरभ्याली गेष्टहाउसको चुम्देन हलमा आयोजित कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जबेगुले लालमोहर सन्धि विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा जबेगुले लिम्बुवान सहराज्यको रुपमा गोरखा राज्यमा एकिकरण भएको तर स्वायत्त शासन सञ्चालनको अधिकार लिम्बुवानलाई नै दिने गरी उक्त सन्धि भएको उल्लेख गरीकाे छ ।
तर पछिबाट शाह राजाहरुको कुटिल चालबाट उक्त स्वायत्त अधिकार खोस्दै लगेर अन्त्यमा शून्य बनाइएको कार्यपत्रमा उल्लेख छ । जबेगुले लालमोहर सन्धिमा गोरखा राज्यको तर्फबाट राजा पृथ्वीनारायण शाह र लिम्बुवान राज्यको तर्फबाट राजा सुन साय, कुम राय र जंग रायले हस्ताक्षर गरेको भनेका छन् ।
उक्त कार्यपत्रका विषयमा लिम्बू भाषा–साहित्यका अभियन्ता तिलबिक्रम नेम्बाङ, संघीय लिम्बुवान मञ्च नेपाल पाँचथरका अध्यक्ष सागर केरुङ, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय सदस्य मधुराज केरुङ, विद्यार्थी नेता धनकुमार लाओती लगायतले टिप्पणी गरेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले अहिलेको सात प्रदेशले लिम्बुवानको भूगोल र इतिहासलाई समेट्न नसकेको भन्दै अरुण–संखुवाखोला, शप्तकोसी नदी पूर्वका नौ जिल्लाई आत्मनिर्णयको अधिकार सहितको छुट्टै लिम्बुवान स्वायत्त राज्य बनाइनुपर्ने माग गरेका थिए ।
त्यसो भयो भने लालमोहर सन्धिको मर्म पनि समेटिने उनीहरुको भनाई थियो । लिम्बुवान इतिहासका अध्येता कमल तिगेलाका अनुसार तत्कालीन गोरखा राज्य र लिम्बुवान राज्यबीच एकिकरण गरिएको उक्त सन्धिमा त्यतिबेलाको भाषामा जगर, बगर, भीरमौरी, तीतेमाछा जस्ता शब्द उल्लेख भएको, त्यसलाई अहिलेको अवस्थामा बुझ्दा जल, जंगल र जमिनमाथिको स्वायत्तता लिम्बुवानलाई प्रदान गरेका थिए ।
तिगेलाले भने– ‘पृथ्वीनारायण शाहले दिएको उक्त अधिकारलाई राजा त्रिभुवनले वि.सं. २००८ सालमा लालमोहर जारी गर्दा पनि थमौति गरेका थिए ।’
उक्त लालमोर सन्धिको सम्झनामा हरेक वर्ष साउन २२ गते लिम्बूजन्य संघ–संस्थाहरुले लालमोहर दिवश मनाउने गर्दछन् । सोही अनुसार पाँचथरमा पनि दिवश मनायइएको लिम्बू विद्यार्थी मञ्च पाँचथरका अध्यक्ष मोतिहाङ केरुङले बताए ।