धरान । इलाका प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७४/०७५ मा ६ सय २३ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सामाजिक अपराधका छन् । ६ सय २३ मुद्दामध्ये २५२ वटा सामाजिक अपराधका मुद्दा दर्ता भएका छन् । जुन २०७३/०७४ भन्दा ४९ वटा बढी हो । आव २०७१/२०७२ मा २९८ मुद्दा दर्ता भएका थिए भने आव २०७२/२०७३ मा २१६ मा झरेको थियो । आव २०७३/२०७४ मा २०३ मुद्दा दर्ता भएका थिए ।

दोस्रो नम्बरमा लागूऔषध छ । लागूऔषधको १२५ वटा मुद्दा दर्ता भएका छन् । यो गत वर्षभन्दा १५ प्रतिशतले कम हो । तर लागूऔषधको परिणाम भने गत वर्षभन्दा बढी छ । गतवर्ष १४७ वटा लागूऔषधका मुद्दा थिए । यस वर्ष लागूऔषधमा एभिलमात्रै १ हजार ६७३ एम्पुल, डाइजेल्याब १ हजार ६७९ एम्पुल र लुपिजेसिक १ हजार ६६५ एम्पुल नियन्त्रणमा लिएको छ । त्यस्तै फेनारगन ३६, नाइट्रोसन २ हजार ६०५ ट्याबलेट, १५ केजी गाँजा, २९ ग्राम ब्राउन सुगर, स्पास्पो प्रोक्सिभन ९ हजार ७०६ क्याप्सुल, डिसलेक्स डिसी १०१ बोतल, चरेस ५ ग्राम, कोरक्स ५ बोतल र एलएसडी २४ थान नियन्त्रणमा लिएको छ ।

इप्रकाले २०७४/७५ मा ७ सय ६ पुरुषलाई नियन्त्रणमा लिँदा ४५ जना महिला, ६ बालक पक्राउ परे । बालकलाई भने सुधार गृहमा पठाइएको इप्रका धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । आव २०७३/०७४ मा ५ सय ६६ मुद्दा दर्ता भएका थिए । इप्रका धरानको तथ्याङ्कमा विभिन्न घटनामा परी मृत्यु हुनेमा एकसय १० जना छन् । मुद्दा संख्याको आधारमा आत्महत्या (आफैले आफैलाई मार्ने काम) तेस्रो स्थानमा छ । आव २०७४/०७५ मा ५० जनाले झुन्डिएर आत्माहत्या गरेका छन् । यसवर्ष भने ५५ जनाले आत्महत्या गरी ज्यान गुमाएका छन् । चोरी मुद्दामा आव २०७४/०७५ मा २७ मुद्दा दर्ता भएका छन् । सवारी दुर्घटनामा आव २०७४/०७५ मा १३ मुद्दा दर्ता भएका छन् । ज्यानसम्बन्धी मुद्दा भने हरेकवर्ष उकालो लागिरहेको छ । आव २०७२/०७३ मा कर्तव्य ज्यानमा ४ र ज्यान मार्ने उद्योगमा २२ मुद्दा दर्ता भएका थिए । आव ०७३/०७४ मा कर्तव्य ज्यान बढेर ७ र ज्यान मार्ने उद्योगमा २० मुद्दा दर्ता भएका छन् भने आव ०७४/०७५ आईपुग्दा कर्तव्य ज्यान ९ र ज्यान मार्ने उद्योगमा ३० मुद्दा दर्ता भएका छन् । ज्यान मार्ने उद्योगका ३० मुद्दामा ३२ पुरुष र ३ महिला गरी ३५ जनालाई पक्राउ गरेको छ भने ४४ पुरुष फरार रहेको इलाका प्रहरी धरानले जनाएको छ ।

आव २०७४/०७५ मा जर्वजस्ती करणीमा २३ वटा मुद्दा दर्ता भएका छन् । ०७३/०७४ मा यो मुद्दा ९ थियो । अघिल्लो आवको अनुपातमा जर्वजस्ती करणमा १५० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । त्यस्तै मानव बेचबिखनमा आव ०७४/०७५ मा ५ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०७३/०७४मा मानव बेचबिखनमा ७ मुद्दा दर्ता भएका थिए ।

इप्रकाको महिला तथा बालबालिका सेवा केन्द्रमा ०७४/०७५ मा घरेलु हिंसाका ८३ वटा निवेदन परेका थिए । जसमध्ये ४७ वटा निवेदन महिला र ८ वटा मुद्दा पुरुषका थिए ।