पाँचथर । फिदिम नगरपालिका–२, अर्खौलेका टेकनाथ रिमालको परिवारले गाई पालन र घाँस खेति गरेर मनग्गे आम्दानि गर्दै आएको छ । अढाई वर्ष अघि सुरु गरेको यो व्यवसायले रिमाल परिवारलाई बार्षिक करिब साँढे सात लाख रुपैंयाँ आम्दानि दिन थालेको हो ।
रिमाल परिवारको आर्थिक अवस्था कमजोर थियो । आफ्नो परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन टेकनाथ तीन बर्ष विदेश बसे । तर सोचे अनुसार कमाइ भएन । फर्केर झापमा बसि व्यापार गरे । त्यसबाट पनि खासै आर्थिक उपार्जन हुन सकेन । एक किसिमले निरास बनिसकेका थिए टेकनाथ । त्यहीं निरासाकाबीच उनको मनमा घाँस खेति गर्ने नयाँ नयाँ सोच पलायो र थाले फिदिम–२, अर्खौले स्थित आफ्नै २० रोपनी जग्गामा घाँस खेति ।
गाउँमा त्यस अघि कसैले नगरेको घाँस खेति सुरु गर्दा टेकनाथलाई गाउँलेले हाँसेर उडाएका थिए । तर उनी आफ्नो काममा ढृड भएर लागे । लगाएको घाँस मज्जाले सप्रियो । त्यहींबेला टेकनाथको मनमा अर्को सोच आयो–घाँस खेति सँगै व्यवसायीक गाई पालन सुरु गर्ने ।
अनि रिमालले दर्ता गरे– देउराली गाई फर्म । अहिले रिमालको गाई फर्ममा स्थानीय र उन्नत जातका गरी आठ वटा दुहुनो गाई छन् । ती गाईले प्रतिदिन ३५ देखि ४० लिटर ओलन दिने टेकनाथका श्रीमति लक्ष्मी रिमालले बताइन् । उक्त ओलन प्रतिलिटर ४० रुपैंयाँले बिक्री गर्दा न्यूनतम मासिक ४२ हजारदेखि ४८ हजारसम्म आम्दानि हुने लक्ष्मीको भनाई छ ।
त्यस्तै घाँसको बिरुवा बिक्री गरेर गत वर्ष अढाइ लाख रुपैंयाँ आम्दानि गरेको उनले बताइन् । माँग अनुसार आफूहरुले घाँसको बिरुवा उत्पादन गर्दै आएको टेकनाथले बताए । पोषिलो घाँसको बिरुवा खरिद गरेर लाने कृषकको संख्या बढ्दै गएको उनले बताए ।
रिमाल परिवारको कृषि कर्मलाई प्रोत्साहित गर्न पशुसेवा कार्यालयले एक लाख बराबरको साइलोपिट बनाउँने कार्यक्रम दिएको कार्यालयले जनाएको छ । त्यसबाट खेर जाने घाँसलाई अन्य समयमा गाईको आहाराको रुपमा राख्न र प्रयोग गर्न सकिन्छ । रिमाल परिवारको प्रगति देखेर पहिले हाँसेर उडाउने गाउँले अहिले प्रोत्साहन दिन आउने टेकनाथले बताए । फोटो ः रिमाल परिवारले लगाएको घाँसबारीमा लक्ष्मी ।