विजयपुर । धरान ११ र २० मा रहेको सर्दूखोलामा निर्माण हुने पुल दुई वर्षभित्रमा तयार हुने भएको छ । १ सय २१ मिटर लामो पुल निर्माण कार्य दुई वर्षभित्रमा तयार गर्ने पुल निर्माणको जिम्मा पाएको कार्कीबन्धु कन्ट्रक्सनले जनाएको छ । बुधबार पुल निर्माण स्थलमा आयोजना गरिएको सार्वजनिक सुनुवाइमा बोल्दै निर्माण कम्पनीका निर्देशक दीपेन्द्र कार्कीले काम गर्न कुनै अवरोध नआए दुईवर्ष अगावै पुल सञ्चालनमा ल्याउने बताएका छन् ।
सार्वजनिक सुनुवाइमा बोल्दै स्थानीय सडक पुल कार्यक्रमका इञ्जिनियर मङ्केश्वर ठाकुरले पुलका काममा २४ घण्टानिगरानी गर्न छुटै इञ्जिनियर तोकिएको बताए । कम्तीमा ८० वर्षदेखि बढीमा १ सय ५० वर्षसम्म पुलको आयु हुने उनले बताए । स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार)को योजनामा पुल निर्माण कार्य सुरु भएको हो । कुल ८ करोड ४० लाख ३२ हजार ४ सय ३६ रुपैयाँको लागतमा पुल बन्ने ठाकुरले बताए ।
सार्वजनिक सुनुवाइमा बोल्दै स्थानीयले पुल निर्माणको कार्य समयमै सक्न र पुल निर्माणमा स्थानीय मजदुरलाई प्राथमिकता दिन आग्रह गरेका थिए । सार्वजनिक सुनुवाइमा बोल्दै धरान उपमहानगरपालिकाकी उप–प्रमुख मञ्जु भण्डारी सुबेदीले पुल निर्माणको कार्यमा कुनै पनि अवरोध नआउने बताइन् । ‘यो स्व. मनमोहन अधिकारीले शीलान्यास गरेको सडक हो, यो सडक पूर्णरूपमा सञ्चालनमा आए धरानमात्र हैन छिमेकी साँगुरीगढी र खोकुछिन्ताङसम्मका जनताले सुविधा पाउने छन्, त्यस कारण पुल निर्माणको कार्यलाई समयमै सम्पन्न गर्नु पर्छ ।’ उपप्रमुख भण्डारीले भनिन् ।