उर्लाबारी । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीले मदन भण्डारी सङ्ग्रहालय परिसरमा बालबालिकालाई लक्षित गरी रेल सेवा सञ्चालनको तयारी गरेको छ । उर्लाबारी–३ स्थित मङ्गलबारेमा रहेको मदन भण्डारी सङ्ग्रहालयको अध्ययनको लागि आउने आन्तरिक पर्यटक र बालबालिकालाई सङ्ग्रहालय अध्ययनसँगै मनोरञ्जन दिलाउने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्यालले बताए । सङ्ग्रहालय परिसरको चिल्ड्रेन पार्कमा सञ्चालनको अन्तिम तयारी भइरहेको सो सेवाको परीक्षण सफल भएकाले २०७५ साल भाद्रको पहिलो साता देखि सञ्चालन गर्ने तयारी भइरहेको छ । करिब ३० लाख रुपैया“को लागतमा सञ्चालन हुने सो सेवाको सञ्चालनको लागि पार्कमा ओछाइएको ४ सय मिटर लम्बाइको फलामे लिकमा बिजुलीको माध्यमबाट चल्ने रेलमा ६ ओटा डिब्बा जडित छन् । प्रत्येक डिब्बामा १४ वर्ष उमेर समुह सम्मका ४ जना बालबालिकाले सवार गर्न सक्छन् । कार्यकारी निर्देशक अर्यालका अनुसार उर्लाबारी नगरमा बालबालिकाको पर्यटकीय गन्तव्यका बनाउने उद्देश्यअनुसार लामो अध्ययन पछि सो सेवा सुरु गर्ने निष्कर्षमा प्रतिष्ठान पुगेको हो । सङ्ग्रहालय परिसरमा हाल मदन भण्डारी सङ्ग्रहालय सञ्चालनमा आएको छ भने वाटर पार्क, साइन्स सेन्टर, तारा मण्डल, स्विमिङ पुल, चमेना गृह निर्माणको कार्य धमाधम भइरहेको बताउँदै कार्यकारी निर्देशक अर्यालले प्रतिष्ठानमा अध्ययनदेखि मनोरञ्जन गर्ने हबसम्म बन्नेमा आशवादी भएको बताएका छन् । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले प्रतिष्ठानले बालबालिकालाई लक्षित गरी रेल सेवा सञ्चालनको तयारी गरेकोमा खुशी प्रकट गर्दै नगरको पर्यटन विकासमा इँटा थपिएको प्रतिक्रिया दिए । मेयर फागोले जननेता मदन भण्डारीको स्मृतिमा नगरमा स्थापना भएको मदन भण्डारी स्मृति प्रतिष्ठान र प्रतिष्ठानले सञ्चालन गरेका शैक्षिक एवम् जीविकोपार्जन कार्यक्रमले शैक्षिक जनशक्ति उत्पादन र बेरोजगार न्युनीकरणमा समेत मद्दत पुगेको बताएका छन् ।