वराहक्षेत्र ।  विद्युत सप्लाई कम हुँदा प्राथमिक स्वास्थ्य केन्द्र चतराले सेवा दिन नसकेपछि बिरामी फर्कन थालेका छन् । खपतअनुसारको पर्याप्त बिजुली नपाउँदा केन्द्रको स्वास्थ्य सेवामा बाधा उत्पन्न भएको हो । केन्द्रमा रहेको विभिन्न विद्युतीय उपकरणहरूको विद्युत खपतलाई थेग्न नसकेर बारम्बार एमसीबी ट्रिप गर्न थालेपछि बिरामी फर्काउनु परेको केन्द्र प्रमुख डा.अनिल गिरीले बताए । केन्द्रमा चिकित्सकीय उपकरणहरू निर्मलीकरण गर्ने मेसिन (अटोक्लेभ), १० केभीए एक्सरे मेसिन, ५ केभीएको स्टेबलाइजर, इन्भर्टर २३० केभीए ब्याट्री, ३ थान पङ्खा, १८ थान कम्युटर, प्रिन्टर ३ थान र ठूला डिप फ्रिजजस्ता दर्जन बढी उपकरण छन् । एक्सरे, कम्प्युटर, प्रिन्टर तथा पङ्खाहरु निरनतर चलाइरहनु पर्छ भने अटोक्लेभ ब्याट्री ब्याकअप रेफ्रिजेरेटरजस्ता उपहरणलाई बढी विद्युत चाहिन्छ । सबै चलाउँदा ट्रिप गर्ने समस्या छ । ‘यस्तो बेलामा एकातिरको लाइन काटेर अर्कोतर्फ दिएर जसोतसो काम चलाइरहेका छौँ,’ डा. गिरीले भने, ‘फेरी भोल्टेज ड्रपको समस्या पनि उत्तिकै छ । भोल्टेज ८०, ९० भन्दा बढी हुँदैन । यस्तो एक्सरे चलाउन सकिँदैन ।’ दैनिक १० देखि १५ जनासम्म सेवाग्राहीलाई अरुतिर रेफर गर्नु परेको गिरी गुनासो गर्दछन् । अहिले त यो समस्या स्वास्थ्य केन्द्र रहेको मुख्य भवनको मात्र हो भर्खरै बनेको १२ कोठा भएको नयाँ कर्मचारी भवनलाई अहिलेको क्षमतामा विद्युत दिने हो भने समस्या जटिल बन्ने डा. गिरी बताउँछन् । अहिले केन्द्रमा सिङ्गल फेज लाइनमा १६ एम्पीयरको मिटर जडान छ, जसको क्षमता ३३ सय वाट मात्र हुन्छ तर केन्द्रको खपत त्यो भन्दा बढी छ । ‘हामीले ३ फेजको विद्युतको लागि आवेदन दिएका छौँ तर अहिलेसम्म कुनै जवाफ आएको छैन ।’ डा. गिरीले भने । उनले नगरपालिका र वडाले समेत यस विषयमा ध्यान नदिएको बताए । वराहक्षेत्र नगरपालिकामा मधुवन र चतरामा गरी दुई स्वास्थ्य केन्द्र छन् । चतरा स्वास्थ्य केन्द्रमा उदयपुर, भोजपुर र धनकुटा जिल्लाका बिरामी दैनिक जसो उपचार गराउन आउने गरेका छन् । चौबिसै घण्टे आकस्मिक सेवा, फार्मेसी र महिला प्रसुति सेवा उपलब्ध गराउँदै आएको छ । यो क्षेत्रकै लागि अति आवश्यक र महत्वपूर्ण स्वास्थ्य संस्थामा बिजुलीको कारणले बिरामी फर्किनु राम्रो नभएको स्थानीय बताउँछन् । स्वास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिसकिएको अवस्थामा मुख्य नगरपालिकाले छिटो भन्दा छिटो समस्या समाधान गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ ।