भद्रपुर । झापाको भद्रपुर स्थित मेचीपुल समय विताउने चौतारीको रुपमा परिणत भएको छ । भारतको विहार र बङ्गालसँग जोडिएको नयाँ पक्की पुलको पूर्व पश्चिम सडक नवनेका कारण विहान वेलुका सितल ताप्ने स्थलको रुपमा पुल प्रख्यात हुदै गएको छ । तीन दशक लामो समय लगाएर बल्लतल्ल बनेको पुललाई आवश्यक्तामा प्रयोग गर्न नसकेपछि मन मिल्नेहरुको लागि रमाइलो गर्नेको लहर चलेर गएको पाइएको छ । भद्रपुर,चन्द्रगढी तथा भारत गलगलिया ,भातगाउँ लगायतका स्थानबाट विहान तथा वेलुकाको समयमा पुलमाथि फोटो खिच्ने, नास्ता खाने साथै प्रेमी प्रेमिकाको भलाकुसारी गर्ने ठाउँ भएको छ । यूवा यूवती तथा वयश्कहरुको प्राय चहलपहल पुलमा प्रसस्त पाइन्छ । पुलको पूर्व तथा पश्चिममा विभिन्न परिकारका खाने कुराहरुको व्यवस्था समेत रहेको छ । ‘म त प्राय आइरहन्छु’ किनकी यहाँ आएपछि अर्कै आनन्द आउने गरेको घुम्न आएका राजेश थपलिया बताउँछन् । यो पुलमा आएर एक पटक आँखा घुमाउँदा भएका टेन्सन सवै हराउने गर्छन् । तर पुललाई चाँडो भन्दा चाँडो सवै सवारी साधन आवत जावत गर्ने गरी सुचारु गर्नु पर्ने उनको भनाइ छ । धेरै वर्षपछि बनेको पुल सेल्फी खिच्नलाइ नै भएपनि कहिले काही आउने गरेको सोनु क्षेत्रीले बताइन् । समय मिलाएर साथीसँग आउने र एकछिन ‘माइण्ड फ्रेस ’ बनाएर घर जाने गरेको उनले सुनाइन् । शनिबार नेपाल र आइतबार भारतको विदा पर्ने भएकोले अन्य बार भन्दा पुलमा यी बार बढी भिडभाड हुने गरेको पुल छेउका चटपटे व्यापारी बताउँछन् । यी दुइ दिन धेरै मानिस आउने गरेको उनले सुनाए । मान्छे आएकाकारण हाम्रो पनि व्यापार चलिरहेको उनको भनाइ छ । बाटो नबनेका कारण भारतबाट राँगा गाडीमा ल्याएको सामान मेची पुल छेउमा राखेर ठेला भेनको सहायताले नेपाल भित्र्याउने गरेका छन् । भारत तर्फ विहार र बङ्गाल कुन बाटो लैजाने र नेपाल तर्फ मुआब्जा दिन बाँकी रहेकोले वस्ती खाली नहुनु प्रमुख कारण रहेको छ । भन्सार विभागले चालु आर्थिक वर्षबाट भद्रपुर छोटी भन्सारलाई स्तरोन्नति गरी प्रमुख भन्सारको मान्यता दिएपनि भन्सारको लागि आवश्यक संरचना भने हालसम्म टुङ्गो लागेको छैन । हाल निर्माण भएको भन्सार नै सडकमा पर्ने भएपछि झनै अन्यौलता छाएको स्थानीय व्यापारीले गुनासो गरेका छन् ।