विराटनगर ।  विराटनगरस्थित सप्तकोशी अस्पतालले मृत्यु भएका नवजात शिशु डम्पिङ साइटमा फाल्ने गरेको पाइएको छ । फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको ‘वेस्ट मेनेजमेन्ट प्रालि’का कर्मचारीले बुधबार फोहोर उठाउने क्रममा मृत अवस्थामा नवजात शिशु फेला पारेको हो । अस्पतालको पछिल्तिर डम्पिङ साइट पर्छ । अस्पतालले मोटो रकम लिएर अवैध गर्भपतन गराउँदा मृत्यु भएका नवजात शिशुलाई डम्पिङ साइटमा फाल्ने गरेको स्रोतको दाबी छ । फोहर सङ्कलनका लागि पुगेका प्रालिका कर्मचारी अमर मरिक, सञ्जय मरिक र गाडीका चालक प्रमोद मण्डलले सालनालसहितको शिशु फेला पारेका थिए । ‘बिहान साढे नौ बजेतिर अस्पताल पुगेका थियाँै’ वेस्ट मेनेजमेन्टका कर्मचारी अमरले भने, ‘फोहोर उठाउन खोज्दा प्लाष्टिकमा टाउको बेरिएको अवस्थामा शिशु फेला प¥यो ।’ मृत अवस्थामा फेला परेको शिशुका विषयमा जिल्ला प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता निशान थापाले जानकारी दिए । सप्तकोशी अस्पतालका प्रशासनिक व्यवस्थापक विमल नेपालले पेटभित्र नै मरेको बच्चा भएकाले फालिएको बताए । ‘सप्तरी घर भएकी सञ्जु चौधरीको २४ हप्ताको पेटभित्र रहेको बच्चा मरेको थियो’ –उनले भने । नेपालका अनुसार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर गीता कार्कीले हेरेको अल्ट्रासाउण्डमा नै मरेको भेटेपछि चौधरीको शल्यक्रिया गरी बच्चा निकालिएको थियो । सप्तरी घर भएकाले मृत शिशुलाई आफन्तले यतै सिङ्घिया खोलामा लगेर शव विसर्जन गर्नू भनेको उनले बताए । तर स्वीपरले प्लाष्टिकमा बाँधेर फोहोर फाल्ने स्थानमा फालेको उनले बताए । कानूनी रूपमा कुनै पनि अस्पतालले मृत शिशु खुल्ला रूपमा फाल्न नपाउने प्रहरीको भनाइ छ । मृत अवस्थामा भेटिएको शिशु अवैध रूपमा गर्भपतन गरेर फालिएको हुनसक्ने अनुमान प्रहरीको छ । त्यहीअनुरुप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।