राजविराज/ डेढ वर्षीया छोरीसहित वेचनीका पति सूर्यनारायण सम्पर्कविहीन भएपछि प्रहरीले हत्यामा उनकै संलग्नताको आशंका गरेर थप अनुसन्धान थाल्यो। तर प्रारम्भिक प्रतिवेदनमा भने प्रहरीले डरलाग्दो रहस्य फेला पारेको छ।

वेचनीको हत्यामा उनकै देवर ३६ वर्षीय मुर्जा भन्ने पञ्चदेव मुख्य योजनाकारका देखिए भने हत्यामा १० जनाको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ। संलग्नमध्ये अधिकांश आफन्त र छिमेकी छन्, जसमध्ये ५ जना पक्राउ परिसकेका छन्। अनुसन्धानका क्रममा शंका गरिएका सूर्यनारायण फेला नपरेपछि साउन ७ गते वेचनीदेवीका देवर पञ्चदेव, पञ्चदेवकी पत्नी प्रमिलादेवी, सालो सत्यनारायण साह, छिमेकी २४ वर्षीय धर्मेन्द्र साह र ५० वर्षीय थापा भन्ने जिवछ साहलाई प्रहरीले पक्राउ गर्यो उनीहरुको बयानपछि भने आफूहरु नै आश्चर्यमा परेको सप्तरीका डिएसपी भावेश रिमाल बताउँछन्। ‘आफ्नै भाइले दाजुको वंशनाश गरेको यो घटना आफैमा आश्चर्यजनक छ,’ उनले भने।

पक्राउ परेकाहरु

पक्राउ परेकाहरुले सूर्यनारायणसहित उनकी गर्भवती पत्नी र छोरी प्रतिमाको आफूहरुले नै हत्या गरेको बयान दिएका छन्। उनीहरुका अनुसार बाबुछोरीको शव कोशी पश्चिमी नहरको च्यानलमा गाडिएको छ। तर प्रहरीले शव अझै फेला पार्न सकेको छैन।

प्रहरीका अनुसार पञ्चदेवको योजनामा नै पत्नी र छोरीसहित सूर्यनारायणको हत्या गर्ने निधो भयो। ‘योजना अनुसार जेठ २६ गते गाउँ नजिकैको बजार भरेर फर्कने क्रममा बाटोमा पर्ने बाँसघारीमा सूर्यनारायणलाई रक्सी ख्वाइयो,’ घटना अनुसन्धान गरिरहेका डिएसपी रिमाल भन्छन्, ‘उनी मातिसकेपछि छोरीसहित उनको समेत घाँटी थिचेर हत्या गरेको खुलेको छ।’

बाबुछोरीको हत्यापछि घरमा सुतिरहेकी वेचनीदेवीको पनि सोही दिन हत्या गरी शौचालयको सेफ्टी ट्यांकीमा फालिएको रिमालले बताए। ‘दुर्गन्ध आउन थालेपछि हामीलाई गाउँलेले जानकारी गराए,’ उनले थपे, ‘कुहिएको अवस्थामा पनि उनको सनाखत भयो र हामी घटनाको पर्दाफास गर्न लगभग सफल भएका छौं।’ केही आरोपीहरु फरार रहेकाले उनीहरुलाई पक्राउ गर्ने प्रयास भइरहेको उनी बताउँछन्।

किन भयो हत्या ? सम्पत्तिको लोभ र घरव्यवहारको रिसिबीका परिवारकै हत्या भएको प्रहरीले जनाएको छ। वर्षौंदेखि एकलौटी उपभोग गर्दै आएको सम्पत्ति एकाएक अंश लगाउनुपर्ने अवस्था भएपछि सूर्यनारायणको परिवार नै सिध्याएर सम्पूर्ण सम्पत्ति एकलौटी बनाउने लोभमा पञ्चदेवले हत्या योजना बनाएको प्रहरीको निष्कर्ष छ।

नेपाललाइभ