इलाम । विश्वमै लापोन्मुख मानिएको रेडपाण्डा जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा रेडपाण्डा सम्बन्धी पढाइ सुरु भएको छ । रेडपाण्डा पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डा सम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ सुरु गरिएको हो । जिल्लाका बिभिन्न स्थानमा रेडपाण्डा पाइने गरेको तर उचित संरक्षण नहुँदा रेडपाण्डा नै लोप हुने स्थितमा पुगेको छ ।
उच्च पहाडी संस्थाको आयोजना र रेडपाण्डा नेटवर्क काठमाडौँको आर्थिक सहयोगमा जिल्लाका तीन विद्यालयमा पठाइ सुरु गरिएको छ । ‘विद्यालय स्तर देखि नै रेडपाण्डा सम्बन्धी जानकारी गराउँन सक्दा उचित संरक्षण हुने भएकाले पढाइ सुरु गरिएको हो ।’ यस परियोजनाका संयोजक धनबहादुर खाम्दाकले भने,‘हामीले बिशेष गरी कक्षा ६ र ७ का विद्यार्थीका लागि रेडपाण्डा सम्बन्धी जानकारी दिन्छौँ ।’
खाम्दाकका अनुसार विद्यालयमा रेडपाण्डा सम्बन्धी मात्र नभई पारिस्थितिक पद्धति, वन तथा वन्यजन्तु लगायतका बिषयमा पनि पाठ्यक्रममा समावेश गरिएको छ । जिल्लाका सन्दकपुर गाउँपालिकास्थित जमुनामा रहेका राष्ट्रिय आधारभुत माध्यमिक विद्यालय, भानुद्वय माध्यमिक विद्यालय र सन्दकपुर गाउँपालिकाकै माइपोखरीमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा पढाइ सुरु गरिएको हो । संयोजक खाम्दाकका अनुसार यसै वर्ष थप चार विद्यालयमा समेत पढाइ सुरु गरिने तयारी गरिएको छ ।
विद्यालयमा रेडपाण्डा सम्बन्धी पढाइ सुचारु गर्नका लागि समिति समेत गठन गरिएको जमुनास्थित भानुद्वय आधारभुत माध्यमिक विद्यालयमा शिक्षक टीका खतिवडा बताउछन् ।‘विद्यालयमा पढाइ सुरु गर्नका लागि कक्षा ६ र ७ का विद्यालयका केही मेधावी विद्यार्थी छनौट गरेर पढाइ सुरु गरिएको छ ।’
शिक्षक खतिवडाले भने, ‘यसरी छनौट गरेका विद्यार्थीले अन्य विद्यार्थीलाई समेत पढाउन सक्ने र बाहिरी मानिसलाई पनि बुझाउन सक्ने छन् ।’ संयोजक खाम्दाकका अनुसार यो बिषय पढाउनका लागि विद्यालयका विज्ञान तथा वातावरण बिषय पढेको शिक्षकलाई मात्र समावेश गरिएको छ । किनकि उनीहरुमा पारिस्थितिक पद्वतिका बारेमा जानकार हुने भएकाले यो विषय पढाउन दिइएको बताइएको छ ।
रेडपाण्डा नेटवर्कका अनुसार जिल्लामा ३० देखि ३५ वटा रेडपाण्डा पाइने तथ्यांक छ । तर, जिल्लामा रेडपाण्डा सम्बन्धी जनचेतना नभएको र कुकर लगायतका जीवजन्तुबाट जोगाउन नसक्दा भएका रेडपाण्डा समेत जोखिममा परेका छन् । केही महिना अघि मात्र इलाम नगरपालिकाको पुवामझुवामा कुकुरले शिकार गरेको अवस्थामा एक रेडपाण्डा फेला परेको थियो ।