धरान । विश्व आदिवासी दिवस बिहीबार देशभर विविध कार्यक्रम गर्दै मनाइएको छ । प्रदेश १ का विभिन्न स्थानमा विविध कार्यक्रम गर्दै आदिवासी दिवस मनाएको हो । झापाको भद्रपुरमा आयोजित कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले गाउँमा आएको जनताको अधिकार पुनः सिंहदरबार नै फर्काउने षड्यन्त्र भइरहेको बताए । नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति परिषद् भद्रपुरले गरेको कार्यक्रममा मन्त्री आङ्बोले आर्थिक समृद्धि र विकास नै अहिलेको साझा मुद्दा भएकाले प्रदेश सरकार त्यसैको लागि लागेको बताए । दिगो विकासको लागि योजनाबद्ध भएर देशलाई समुन्नत र विकसित बनाउन जरुरी रहेको बताए । आदिवासी भूमिपुत्र भएकाले हरेक परिवर्तनको लागि निर्णायक भूमिका अतुलनीय रहेको उल्लेख गरे । नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति परिषद्का अध्यक्ष सन्तोष राजवंशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यसक्रममा १४ जातिले झाँकी तथा नृत्य प्रस्तुत गरे । यस्तै पाँचथरको यासोकमा आदिवासी अधिकार, सुशासनको लागि आदिवासी अडान, पहिचानसहितको सङ्घीयता हाम्रो साझा अभियान भन्ने मूल नारासहित दिवस मनाइएको पूर्वडिएसपी जगतजङ लावतीले बताए । कार्यक्रममा आदिवासी जनजातिको पहिचान झल्कने खालका तामाङ समुदायको डम्फु, लिम्बू समुदायको च्याबु्रङलगायतका सामग्रीहरु प्रदर्शन गरिएको थियो । यस्तै पाँचथरको फिदिममा पनि विभिन्न जातजातिको जातीय झाँकीसहितको ¥याली निकालिएको थियो । प्रदेश–१ का प्रदेशसभा सदस्य सीता थेबेले च्याब्रुङ बजाएर कार्यक्रमको उद्घाटन गरिन् । सांसद् थेबेले आदिवासी जनजातिहरु कला र संस्कृतिको धनी जाति भएको बताइन् । फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले नगरक्षेत्रका समग्र आदिवासी जनजातिको विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् पाँचथर र फिदिम नगर परिषद्को संयुक्त आयोजनामा कार्यक्रम भएको हो । यस्तै आदिवासी जनजाति महासङ्घ केराबारीले भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गादाता तारा राई र आदिवासी अभियन्ता दोर्पध्वज राईलाई सम्मान गरिएको छ । आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य लहरु जिमीले दोसल्ला र सम्मान–पत्रले उनीहरुलाई सम्मानित गरेका हुन् । प्रदेश सांसद् कुलप्रसाद साम्बाले प्रदेशको नामाकरण बहुपहिचानको आधारमा राखिनुपर्ने बताए । कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की, उपाध्यक्ष शान्ती लिम्बूलगायत राजनैतिक दल र स्थानीय सङ्घ–संस्थाका प्रतिनिधिले मन्तव्य राखेका थिए । यसै क्रममा मोरङको सुन्दरहरैंचास्थित गछियामा पनि आदिवासी जनजाति महासङ्घ समन्वय परिषद्ले पनि आदिवासी दिवस मनाएको थियो । इटहरीमा पनि नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीले गरेको कार्यक्रम एक नम्बर प्रदेशका प्रमुख गोविन्द तुम्वाहाङले उद्घाटन गरे । प्रदेश सांसद् सर्वध्वज साँवाले जनजातिहरुको अधिकार सदुपयोग गर्दै अगाडि बढ्नु पर्ने सुझाए । इटहरीकी वरिष्ठ गायिका तारा थापालाई सम्मानित गरिएको थियो । सुनसरीका १९ वटा जातीय संस्थाहरुले कार्यक्रम आयोजना गरेका हुन् ।