विर्तामोड/ नेत्रहीन महिला सङ्घ नेपाललाई सहयोग गर्ने उद्देश्यले पहिलो पटक झापाको विर्तामोडमा ‘अनमोल साँझ पर्यटन यात्रा–२०७५’ हुने भएको छ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर भदौ २७ गते विर्तामोडमा अनमोल साँझको आयोजना गरिएको शुक्रबार विर्तामोडमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिइएको छ । कार्यक्रमबाट सङ्कलन हुने रकममध्ये घाटा नाफा जे भए पनि एकलाख रुपैयाँ नेत्रहीन महिला सङ्घलाई दिने अनमोल साँझका व्यवस्थापक कमल जिसीले बताए । उनले कार्यक्रमका लागि प्रायोजकले २ देखि १० लाखसम्म रुपैयाँ सहयोग गर्ने गरी सहमति गरेको जानकारी दिए ।
‘भदौ २४ र २५ गते विर्तामोडका विभिन्न चोक र सडकमा लगभग २७–२८ विधामा सडक नाटक हुन्छ’ व्यवस्थापक जीसीले भने २७ गते अनमोल केसीको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिनेछ’ उनले भने, ‘आन्तरिक पर्यटन, ट्राफिक व्यवस्थापन, समाजमा भएका घटना, विकृतिलगायतका विषयमा सडक नाटक गरिनेछ ।’ कार्यक्रममा राष्ट्रिय कलाकारका साथै थिएटरका चर्चित कलाकारबाट सडक नाटक समेत गरिने जनाइएको छ । देशभरका वरिष्ठदेखि नवोदित कलाकारहरुलाई समावेश गरी नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्दै पर्यटन, शिक्षा, स्वास्थ्य, सञ्चार यातायात तथा प्रशासनिक क्षेत्रलाई लक्षित गरी सडक तथा चोकमा जनचेतनामूलक कार्यक्रम गर्ने अनमोल साँझको उद्देश्य रहेको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न सङ्घ–संस्थाको सहयोगमा कार्यक्रम आयोजना गरिएको उनले बताए ।
झापाको विर्तामोडमा हुने अनमोल साँझका लागि २६ लाख ६२ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ भने बुटवल, पोखरा, चितवन र विर्तामोडमा कार्यक्रम आयोजना गर्दा एक करोड ६ लाख खर्चको अनुमान गरिएको छ । भदौ ९ गते बुटवलबाट शुरु हुने कार्यक्रम १६ गते पोखरा, २३ गते चितवन र २७ गते विर्तामोडमा हुने जनाइएको छ । विर्तामोडमा हुने कार्यक्रम पूर्वेली युवा क्लब स्थानीय आयोजक रहने अध्यक्ष मनोज बुढाथोकीले बताए ।