धरान/ पूर्वाञ्चल सिङ्गिङ स्टार तथा मिस स्टेटको अडिसन अन्तिम चरणमा पुगेको छ । 

प्रदेश–१ को १२ जिल्लाको अडिसन पूरा भएको पूर्वाञ्चल बागिना कला केन्द्र धरानले जनाएको छ । आज (बुधबार) धनकुटामा अडिसन हुँदै छ । अन्तिम अडिसन सुनसरीको धरानमा भदौ ९ गते हुँदै छ । ओखलढुङ्गाबाट शुरु भएको अडिसन १२ जिल्लामा सम्पन्न भएको कार्यक्रम संयोजक भक्तिराज राईले बताए । दोस्रो चरणका अडिसन सबै धरानमा हुने भएको छ । भदौ १५ गते दोस्रो चरणको अडिसन हुने भएको हो ।  विजेताले नगद ५० हजार रुपैयाँसहित दुईवटा गीत रेकर्ड गर्न सुविधा प्राप्त गर्नेछ भने म्युजिक भिडियो तथा एकवर्ष निःशुल्क सङ्गीत प्रशिक्षणको समेत सुविधा पाउनेछ । दोस्रोले २५ हजार रुपैयाँसहित एउटा गीत, ६ महिना सङ्गीत कक्षा लिन पाउनेछ । त्यस्तै तेस्रोले १५ हजार रुपैयाँसहित ३ महिने सङ्गीत प्रशिक्षणको सुविधा प्राप्त गर्नेछ ।  त्यस्तै बेस्ट भोकल, डिसिप्लिन, पर्पmर्मेन्स, पब्लिक च्वाइस टाइटलसमेतले पुरस्कार पाउने जनाइएको छ । मिस स्टेटतर्फ विजेताले स्कुटी प्राप्त गर्नेछिन् भने फस्ट रनर अपले नगद ५० हजार रुपैयाँ र सेकेण्ड रनर अपले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । टाइटलतर्फ मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिसिप्लिन, मिस पर्सनालिटी, मिस पङ्चुअल, मिस बेस्ट स्माइल, बेस्ट फिचर, बेस्ट क्याट्वाक, मिस चार्मिङ, मिस ब्युटीफूल टाइटल प्रदान गरिने संयोजक राईले बताए ।