तेह्रथुम/आठराई गाउँपालिका–२ का वडाअध्यक्षले आफ्नो भत्ता र सेवा सुविधाको रकमबाट कृत्रिम झरना निर्माण गरेका छन् ।
वडाअध्यक्ष दिलकुमार पाहिमले आफूले पाउने सेवा सुविधा र तलब भत्ताको रकमबाट कृत्रिम झरनाको निर्माण गरेका हुन् । स्थानीयवासीले १५ वर्ष अघिदेखि झरना निर्माण गर्न चाहना राखे पनि बजेट अभावले झरनाको निर्माण गर्न सकेका थिएनन् तर, त्यो काम वडाध्यक्ष पाहिमले आफ्नै तलब भत्ताको रकम लगानी गरी पूरा गरी दिएका छन् । मयायक भीरबाट नजिकै रहेको साफेवा खोलाको पानी प्रयोग गरेर अहिले मयायक झरना बनाइएको वडाअध्यक्ष पाहिमले बताए । वडाध्यक्षले आफ्नै तलब भत्तालाई प्रयोग गरेर झरना निर्माण गरेपछि यो चर्चाको विषयसमेत बनेको छ । झरना निर्माणले यो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने वडाध्यक्ष पाहिमले बताए ।
खाम्लालुङको हाङपाङ–बाँझोगरा सडक–खण्डले छोएको यो झरना म्याङ्लुङबाट ५२ किलोमिटर र पाँचथरको फिदिमबाट ४३ किलोमिटरको दूरीमा रहेको छ । धार्मिक तथा पर्यटकीय महत्वका क्षेत्रहरूको विकासका लागि स्थानीयवासीलेसमेत पहल गरिरहेका छन् । गाउँमा रहेका धार्मिक तथा पर्यटकीय सम्भावना रहेका क्षेत्रहरूको प्रचार–प्रसार र पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न पहल थालिएको स्थानीयवासी सिर्जना लामा फोम्बोले बताइन् ।