पानवारी/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकको बेवास्ताले गर्दा गर्भमै जुम्ल्याहा शिशुको मृत्यु भएको भन्दै बच्चाका बाबुले छानविन गर्न माग गरेका छन् । कानेपोखरी–३ मोरङ घर भएका दीपक माझीले आफ्नी पत्नीलाई प्रसूति गराउन आइतबार प्रतिष्ठानमा ल्याएका थिए । प्रसूति गराउने क्रममा चिकित्सकको लापरबाहीले जुम्ल्याहा बच्चाको गर्भमै मृत्यु भएको भन्दै छानविन गरी दोषी चिकित्सकलाई कारबाहीका लागि उनले प्रतिष्ठानको प्रशासनमा उजुरी दिएका छन् ।

माझीकी पत्नी सरु माझी प्रसूती गराउन बीपी प्रतिष्ठानमा आइतबार भर्ना भएकी थिइन् । बेड भर्ना भएपछि माझीको पाठेघरमा हात हालेर नर्सले प्लासेन्टा (पानीको फोका) फुटाइदिएको र त्यसपछि माझीको पाठेघरबाट निरन्तर पानी बगेको माझीले बताए । उनले भने, ‘हात हालिसकेपछि पानी बगेको बग्यै ग¥यो, चारवटा पेटीकोट फे¥यौं, बेड पनि पूरै भिज्यो ।’ ‘पानी धेरै बग्यो भन्दा नर्सले ‘तिमीहरूको मात्र हो र ? यहाँ सबैको पानी बगेको छ त देख्दैनौ भन्ने जवाफ दिए’ –माझीले भने । प्रतिष्ठानका प्रसूति वार्ड प्रमुख डा. मोहनचन्द्र रेग्मीले प्लासेन्टा नफुटाई बच्चा नजन्मिने बताए । उनले भने, ‘बच्चाको पानीको फोका हात हालेर नै फुटाउनु पर्छ, यो नर्मल प्रक्रिया हो ।’ माझीले आफ्नो पत्नीलाई नियमित चेकजाँच गराइरहेको र चिकित्सककै सल्लाहबमोजिम बेड भर्ना गरिएको बताए । उनले आफ्नी पत्नीको भनाइ उद्धृत गर्दै भने लेवर रुमभित्र नर्सलाई डाक्टरले बच्चा निकाल्न किन ढिलाइ भएको भनेर गाली गर्दै थिए । घटनाबारे सञ्चारकर्मीलाई नभन्न र हल्ला नगर्न चिकित्सकले आफूलाई धम्की दिएको माझीले बताए । उनका अनुसार पत्नीसमेत चिकित्सकसँग डराएकी छन् । माझीले भने, ‘जे भए पनि घटनाबारे कसैलाई नभनी डिस्चार्ज भएर छिटो घर जान भन्छिन् उनी । हल्ला ग¥यो भने मेरो उपचारसमेत राम्रो हुँदैनहोला पनि भन्छिन् ।’ माझीले सत्य–तथ्य छानविन गर्न माग गरेका छन् ।

‘चिकित्सकले लापरबाही गर्दा मेरा जुम्ल्याहा छोरा मरे, अरुको नमरुन् भनेर मैले छानविनको माग गरेको हुँ’ माझीले भने, ‘बरु मैले मेरो पत्नीलाई घरैमा सुत्केरी गराएको भए राम्रो हुने थियो होला, यहाँ ल्याएर गल्ती पो गरेँ कि ?’ प्रसूति वार्ड प्रमुख मोहनचन्द्र रेग्मीले भने जुम्ल्याहा बच्चा जहिले जोखिममा नै हुन्छन् । उन भने, ‘बिरामीलाई क्लोज मनिटरिङ गरिरहेका थियौं । जोखिममै भएकोले हामीले केयर गरिरहेका थियौं । लेबरअगाडि ज्वरो आएको र घटेको थिएन । अचानक १५ मिनेटको दौरानमा बच्चाको धड्कन देखिएन । दुवै बच्चाको डेथ भयो । प्रक्रियागत कुरामा हामी कहीँ पनि चुकेका छैनौं । बिरामीका आफन्तलाई लाग्न सक्छ, चिकित्सकले लापरबाही ग¥यो भनेर तर त्यस्तो भएको छैन ।’ उनले विभागीय छानविनसमेत गरिसकेको बताउँदै भने, ‘त्यस्तो कमी कमजोरी कही देखिएन । दुर्घटनावश घटना घट्यो जुन दुःखद् हो ।’