विराटनगर/ विराटनगरस्थित जिल्ला कारागार मोरङमा चौकीदारको निर्देशनमा कैदीलाई यातना दिने गरेको पाइएको छ । चौकीदार राजु श्रेष्ठको निर्देशनमा सार्वजनिक अपराधमा कैद भुक्तान गरेका विराटनगर–१३ का निभेष भुजेललाई यातना दिएको पाइएको हो । श्रेष्ठले भनेअनुसार रकम बुझाउन नसक्दा र उनलाई खुसी नपार्दा कैदीलाई यातना दिने गरेको भुजेलको आरोप छ । साढे तीन महिना कैद भुक्तान गरेर बाहिर आएका भुजेलको शरीर भरी चोटैचोट छ । ब्लाष्टसँग कुरा गर्दै उनले भने, ‘मैले कुटाइ नखाएको दिनै थिएन । कारागारलाई मैले सुधार गृहको रूपमा बुझेको थिएँ,’ उनले भने, ‘तर यहाँ त्यस्तो रहेनछ ।’ चौकीदार श्रेष्ठलाई रिझाउन नसक्दा उनको निर्देशनमा भाइ नाइकेले कुटपिट गर्ने गरेको उनको आरोप छ ।
यसरी चौकीदार श्रेष्ठबाट उनी मात्रै हैन, थुप्रै कैदीहरु पीडित रहेको कारागार स्रोत बताउँछ । नाम उल्लेख नगर्ने सर्तमा एक कैदीले भने, ‘चौकीदारले घरबाट पैसा माग्न लगाउँछ । घर र आफन्तले ल्याइदिएको पैसा उनलाई नदिए लोत हुने गरी कुट्छ ।’ ती कैदी भन्छन् । कतव्र्य ज्यान मुद्दामा कैद भुक्तान गरी दुई दिनअघि मात्रै बाहिर आएका कैदीले पनि चौकीदारले कुट्ने गरेको बताए । ‘घर जाने अघिल्लो दिन मलाई पैसा माग्यो । मसँग थिएन,’ उनले भने, ‘चौकीदारको निर्देशनमा पाइपै–पाइपले कुटे ।’ चौकीदारकोे कुटाइबाट ढाडमा चोट लागेको देखाउँदै उनले भने, ‘यसरी चौकीदारको हातबाट कुटाइ खाने ममात्र होइन । अझै थुप्रै छन् । कतिको खुट्टा समेत कुटाइबाट फ्याक्चर भएको छ ।’
‘बाहिरबाट कारागारभित्र अनुगमनमा आउँदा कसैलाई बोल्न दिँदैन,’ भुजेल भन्छन् । चौकीदार श्रेष्ठ अपहरण मुद्दामा जेल परेका हुन् । यसअघि चौकीदार रहेका अभिषेक गिरी काठमाडौंको कारागारमा सरुवा भएपछि श्रेष्ठ करिब ४ महिना अगाडि चौकीदार बनेका हुन् । कारागारका जेलर भीमराज पोखरेलले चौकीदारको विषयमा कैदीका आफन्तबाट आफूलाई पनि गुनासो आएको बताए । उनले भने, ‘यस यस विषयमा मैले अनुसन्धान गर्ने काम गर्दै आएको छु ।’ अनुसन्धानको क्रममा दोषी देखिए प्रमुख जिल्ला अधिकारीसँग सल्लाह लिएर प्रक्रिया अगाडि बढाउने उनले बताए । यस विषयमा चौकीदार श्रेष्ठसँग पनि कुराकानी गर्न खोज्दा कारागार प्रशासनले भेट गर्न दिएन । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले कारागारभित्र समस्या देखिएको हुनाले यस विषयमा छानबिन गर्ने बताए । उनले भने, ‘यस विषयमा निवेदन समेत परेको छ ।
आन्तरिक रूपमा हेर्ने कामहरू भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी केसीले भने । जेलभित्रका पसलमा मनपरी मूल्य चौकीदार श्रेष्ठले सञ्चालन गरेको पसलमा मनपरी मूल्य राख्ने गरेको कैदीबन्दीहरु बताउँछन् । बाहिरभन्दा जेल भित्रको पसलमा हरेक सामग्रीको मूल्य दोब्बर छ । कारागारभित्र चाउचाउ प्रति प्याकेट ३० रुपैयाँ, खैनी २५, रेडबुल १ सय ५० रूपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ । गर्मीमा सरकारले दिने गर्मी भत्तासमेत चौकीदारले आधा खाइदिने गरेका आरोप कैदीबन्दीको छ । सरकारले गर्मी भत्ता स्वरुप प्रतिव्यक्ति १ हजार ४ सय रुपैयाँ दिने गरेको छ । तर, चौकीदारले भौचरमा १४ सयमा हस्ताक्षर गर्न लगाएर पैसा ७ सय रूपैयाँ खाने गरेको कैदीबन्दी बताउँछन् ।
क्षमताभन्दा तेब्बर कैदी मोरङ कारागारमा क्षमताबन्दी तेब्बर कैदी बन्दी रहेका छन् । २ सय ५० क्षमतामा कारागारमा ८ सय ३ जना कैदी रहेका जेलर भीमराज पोखरेलले बताए । बुधबारसम्म ७ सय १६ जना पुरुष र ८७ जना महिला कैदीबन्दी रहेको उनले बताए ।