बेलबारी/ नक्कली सवारी चालक अनुमति–पत्र बनाएको अभियोगमा मोरङ सुन्दरहरैंचाका तीन जनालाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । सुन्दरहरैंचा–७ का ५४ वर्षीय पर्शुराम भण्डारी, वडा नं. ३ का ४३ वर्षीय शम्भु भनिने हरिप्रसाद बास्तोला र सोही वडा बस्ने २८ वर्षीय महाप्रसाद लुइँटेल पक्राउ परेका हुन् । सुन्दरहरैंचा–६ निवासी अटो टेम्पो चालक टीकाप्रसाद लुइँटेलका लागि नक्कली सवारी चालक अनुमति–पत्र बनाउने क्रममा उनीहरू पक्राउ परेका इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताएका छन् ।
साउन २२ गते को १ घ १७३२ नम्बरको अटो टेम्पोले सुन्दरहरैंचा–६ स्थित शिवालय गछिया डाँगी भित्री सडकमा पैदल यात्रीलाई ठक्कर दिएको थियो । पैदल यात्री स्थानीय ७८ वर्षीय कर्णबहादुर गुरुङको न्युरो अस्पतालमा सोही दिन उपचार क्रममा मृत्यु भएको थियो । सोही दुर्घटनामा पक्राउ परेका चालक टीकाप्रसाद लुइँटेलले आफूसँग सवारी चालक अनुमति–पत्र भएको बयान दिएका थिए । तर उनले पेश गरेको सवारी चालक अनुमति–पत्र यातायात व्यवस्था कार्यालय इटहरीमा रुजु गराउँदा नमिलेपछि सवारी चालक अनुमति–पत्र नक्कली रहेको ठहर भएको थियो । उक्त नक्कली सवारी चालक अनुमति–पत्र बनाउनका लागि हरिप्रसाद बास्तोलाले चालकका दाजु महाप्रसाद लुइँटेलसँग एकलाख रुपैयाँ लिएको प्रहरीले बताएका छन् ।
हरिप्रसाद बास्तोलाले पर्शुराम भण्डारीमार्फत उक्त नक्कली सवारी चालक अनुमति–पत्र बनाएका थिए । सवारी चालक अनुमति–पत्रमा सरकारी छाप र दस्तखत सबै प्रयोग गरिएको छ । तर सवारी चालक अनुमति–पत्रको नाम र यातायातमा दर्ता रहेको नाम फरक भएपछि नक्कली ठहरिएको थियो । किर्ते गरी सवारी चालक अनुमति–पत्र निकालेको रहस्य खुलेपछि प्रहरीले पक्राउ परेकालाई सोमबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । उनीहरूलाई किर्ते छाप र किर्ते सरकारी दस्तखतको मुद्दा चल्ने प्रहरीले बताएको छ । त्यसैगरी सवारी दुर्घटना गर्ने चालक टीकाराम लुइँटेललाई भने सवारी ऐन र किर्ते दस्तखत अन्तरगत मुद्दा चल्ने बताइएको छ । नक्कली सवारी चालक अनुमति(पत्रमा सरकारी छाप साथै स्टिकरसमेत प्रयोग गरिएको हुँदा कार्यालय भित्रैबाट यसको चरम दुरुपयोग हुने गरेको घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।