भद्रपुर । झापा कारागारबाट एक कैदीबन्दी फरार भएको दुइहप्ता नाघिसके पनि प्रहरीले अझै फेला पार्न सकेको छैन । कारागारबाट गौरादह नगरपालिका–८ का २४ वर्षीय उमेश माझी साउन २७ गते आइतबार दिउँसो फरार भएका थिए । कर्तव्य ज्यान मुद्दामा जन्म कैद भोग्दै आएका उनले तात्कालीन जुरोपानी गाविसकी अन्दाजी १४ वर्षिया बालिका करणीपश्चात् हत्या गरेको अभियोगमा ०७१ असार ५ मा कारागार चलान भएका थिए । कारागारमा रहेर बिजुली मर्मतको काम गर्दै आएका माझी भ¥याङ्को सहायताले कारागारको पर्खालबाट फरार भएका थिए । फरार भएका माझी बिर्तामोडतर्फ भागेका थिए । उनलाई घटना भएकै दिन राति करिब ९ बजे गरामनीमा खटिएको प्रहरी टोलीले सडकमा भेट्टाएको प्रहरीले जनाएको थियो । जम्काभेटमा उनले दुई जना प्रहरीमाथि ढुङ्गा प्रहार गरी त्यहाँबाट पनि भाग्न सफल भएको प्रहरीको जनाएको थियो । ड्युटीमा खटिएका असईमाथि ढुङ्गा प्रहार गर्दै गरामनी उत्तर जङ्गलतर्र्फ भागेपछि प्रहरीले रातभर खोजतलास गरे पनि फेला पार्न सकेको थिएन । कैदी फरारको विषयलाई लिएर तत्काल कारागार सुरक्षामा रहेका एक सईसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको थियो । भद्रपुरस्थित कारागारमा सुरक्षार्थ सई हस्तबहादुर श्रेष्ठ, असई गणेश राईसहित ड्युटीमा खटिएका एक प्रहरी हवल्दार र चारजना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको झापा जिल्ला प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका थिए । सई श्रेष्ठ विदामा बसेको समयमा असई राईले इञ्चार्जको कार्यभार सम्हालेका थिए । घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलकोे नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले पन्ध्रदिन भित्र प्रतिवेदन बुझाउने भनेपनि केही दिन पुनः म्याद थप गरिने छानबिन समितिका संयोजक सप्रजिअ पौडेलले बताए । उता प्रहरीको हकमा पनि जिल्लाका डिएसपी जितेन्द्रकुमार बस्नेतको संयोजकत्वमा छानबिन भइरहेको पौडेलले बताए । प्रशासनतर्फको सल्लाह सुझावबारे निर्देशन दिने र घटना हुनुको कारण पत्ता लगाउने मेरो काम हुनेछ भने खोजतलास गरी पक्राउ गर्ने काम प्रहरीको हुने उनले जनाए । एक सईसहित ६ जना निलम्बनमा परेको र अदालतमा मुद्दा चलिरहेको उनले जानकारी दिए । फरार कैदी भारततर्फ भागेकाले भारतीय प्रहरीको सहयोग लिइरहेको झापाका एसपी भीमप्रसाद ढकालले जनाए । कैदी माझी जसरी पनि पक्राउ पर्ने उनले दाबी गरे ।