भद्रपुर । जङ्गली हात्तीको आक्रमणबाट झापामा ज्यान गुमाएका तीन जनाको परिवारलाई राहत वितरण गरिएको छ । डिभिजन वन कार्यालय झापाले बिहीबार एक कार्यक्रमको आयोजना गरी प्रति व्यत्ति दश हजारका दरले राहत रकम वितरण गरिएको हो । वन्यजन्तु क्षति वापत अनारमनीका रसुल मियाँ, हरिमान राजवंशी र चन्द्रगढीका दुर्गाबहादुर कटुवालका परिवारलाई चेक हस्तान्तरण गरिएको थियो । प्रदेश नं १ का वन मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले क्षतिपूर्ति बापतको चेक रकम परिवारका सदस्यलाइ हस्तान्तरण गरेका थिए । हालसम्म हात्तीको आक्रमणबाट झापामा ५ बर्षमा ३५ जनाले ज्यान गुमाइसकेका छन् भने ९ ओटा हात्ती मारिएका छन् । बर्षेनी जङ्गली हात्तीले जनधनको ठूलो क्षति पुर्याउँदै आएपनि हात्ती नियन्त्रणका लागि आएको बजेट कागजमा मात्र सीमित हुने गरेको छ । बर्षेनी २ करोड बढी धनजनको क्षति हुदै आएपनि दीर्घकालिन ठोस योजना तथा नीति पारित नहुँदा आएको बजेट उपलब्धिमुलक भएको देखिदैन । २०४१ सालपछि झापाको प्रमुख समस्या बन्दै गएको हात्ती–मानव द्वन्द्व नियन्त्रणको पटक –पटक गरिएको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन् । यसको व्यवस्थापन हुन नसक्दा जनधनको क्षति र हात्ती मारिने क्रम रोकिएको छैन् । हात्तीका कारण बढी क्षति हुने स्थानहरुमा साविक दुवागढी, चन्द्रगढी, गरामनी, पृथ्वीनगर, जलथल, बालुबाडी, घेराबारी शान्तिनगर, बुधबारे, बाहुण्डाँगी, खुदुनावारी गाविसका स्थानहरु रहेका छन् । त्यसैगरी कार्यक्रममा वनलाई डढेलो रोकथाम तथा हरियाली निर्माण गरेवापत उत्कृष्ट वन समूहलाइ सम्मान गरिएको थियो । प्रथम कमलधाप रामपोखरी वन, दितीय प्रजापति सामुदायिक वन र तृतीय हिमालय सामुदायिक वन कन्काइलाइ नगद सहित सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट सशस्त्र वन रक्षक सम्मानबाट प्रदिप राजवंशी र लोकबहादुर बुढाथोकीलाई सम्मान गरियो । प्रदेश नं १ का वन मन्त्रालयका सचिव ढुङ्गानाको प्रमुख आतिथ्य तथा डिभिजन वन प्रमुख बोधराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्रगढी वन सामुदायिक वन समूहका अध्यक्ष हिराप्रसाद पोखरेल, वन उपभोक्ता महासङ्घकी केन्द्रीय सदस्य सङ्गीता थापा लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले सञ्चालन गरेका थिए ।