विराटनगर । गए रातीदेखी परेको वर्षाका कारण विराटनगर महानगरको कतिपय स्थान डुबानमा परेको छ । पानीको निकास नहुँदा वर्षामै विराटनगर जलमग्न बनेको हो ।
विराटनगरको एयरपोर्ट रोड, विद्यालय, कलेज, उद्योग, पसल, कलकारखनाहरुमा डुबान पर्यो । यस्तै बुढीगंगा गाउँपालिकामा ३ मा रहेको स्मिृती बोर्डिङ स्कूल डुबानमा परेको कारणले आज बिदा दिइएको स्कूलकी प्रिन्पिल रिता न्यौपानेले जानकारी दिइन् । त्यस्तै टंकीसिनवारीमा रहेको आरती स्ट्रिप डुबानका कारण बन्द गरिएको छ । पानीको निकास नहुँदा खेतबाट आएको पानी आरती स्ट्रिप्सको भित्र पसेपछि काम बन्द गरिएको हो ।
सर्वसाधरणले पानी सहज ढंगले निकास भएर बग्ने वातावरण बनाउन नगरपालिकालाई पटक पटक भन्दा पनि चासो नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
विराटनगरमा गत २४ घण्टामा १ सय १६ मिलिलिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभरी नै आंशिकदेखि सामान्य बदली रहि केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । अत्याधिक गर्मीको मारमा परिरहेका विराटनगरबासीका लागि पानी परेर राहत भएपनि डुबानको समस्याले अर्को हैरानी थपेको छ ।