इटहरी/देशभर बलात्कारको ग्राफ बढिरहेका बेला पूर्वको अवस्था पनि उस्तै छ ।  दैनिकजसो बलात्कारका घटना सुन्नमात्रै पाइँदैन, प्रहरीमा उजुरीसमेत पर्ने गरेका छन् । प्रहरीमा पर्ने उजुरीलाई आधार मान्ने हो भने पूर्वमा बलात्कारको ग्राफ आकासिँदो छ ।  प्रहरी अधिकारीहरू भन्छन्, ‘उजुरी पर्नु र घटनाहरू प्रकाशमा आउनुलाई पनि चेतना अभिवृद्धिकै परिणाम मान्न सकिन्छ ।’ साउन महिनामा मात्र प्रदेश एकमा ७२ जना महिला तथा किशोरी बलात्कारको शिकारमा परेको प्रदेश १ को प्रहरी कार्यालयको तथ्याङ्क छ । एक वर्षको अवधिमा ६ वर्षदेखि ४५ वर्षमाथि उमेरमा ४ सय ८६ जना बलात्कृत भएको प्रदेश एक प्रहरीका प्रवक्ता एसपी आभूषण तिम्सिनाले बताए । उनले भने, ‘जबर्जस्ती करणी गरेको आरोपमा ३ सय ४५ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ ।’  बलात्कारको अभियोग लागेकाहरू अधिकांश आफन्त तथा परिवार निकटका छन् । आफन्त र चिनजानकै व्यक्तिबाट बढी बलात्कारको शिकारमा परेको अनुसन्धानमा देखिएको एसपी तिम्सिना बताउँछन् । समान्यतयाः आफन्तबाट हुने बलात्कारका घटना गुपचुप पार्ने र पीडकले उन्मुक्ति पाउने सम्भावना बढी रहने गरेको उनले बताए ।

तथ्याङ्कलाई आधार मान्ने हो भने विगत वर्षभन्दा पछिल्ला वर्षमा बलात्कार बढिरहेको देखाउँछ । आर्थिक वर्ष ०६९/०७० मा २ सय १७ वटा बलात्कारका घटना भएका थिए । आ.व. ०७०/०७१ मा बढेर २ सय ५८ वटा पुगे । आ.व. ०७१/०७२ मा ३ सय २, आ.व. ०७२/०७३ मा २ सय ९५ वटा घटना भएको देखिन्छ । आ.व. ०७३/०७४ मा ३ सय बलात्कारका घटना भएका छन् ।

दुई सयभन्दा बढी बलात्कारी फरार बलात्कारमा फरार आरोपितहरू संख्या पनि उल्लेखनीय छ । पूर्वमा मात्रै २ सय १४ जना आरोपितहरू फरार छन् । आरोपित पक्राउ पर्न नसक्दा पीडितहरू थप पीडामा पर्ने गरेका छन् । बलात्कारका आरोपितमध्ये २ सय ७२ जना पक्राउ परे पनि २ सय १४ अझै फरार रहेको प्रहरीले जनाएको छ ।

बलात्कृत हुनेमा किशोरी बढी बलात्कृत हुनेमा किशोरीको संख्या उल्लेखनीय छ । चारसय ८६ मध्ये २५ वर्षमुनीका ३ सय ४५ जना रहेको प्रदेश प्रहरी कार्यालयको रेकर्डमा उल्लेख छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग, युट्युवलगायतमा यौनजन्य गतिविधिका कारण पनि बलात्कार बढिरहेको एसपी तिम्सिनाको दाबी छ । उनी भन्छन्, ‘पछिल्लो केही समययता सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि बलात्कार बढिरहेको अनुमान गर्न सकिन्छ ।’