भद्रपुर/भद्रपुर कपडा तस्करीको ‘ट्राञ्जिट पोइन्ट’ बनेको छ ।  खुला सीमाको फाइदा उठाउँदै व्यापारीले त्यसक्षेत्रबाट सबैभन्दा बढी कपडा तस्करी गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष ०७४/०७५ मा जनपथ प्रहरी र सशस्त्र प्रहरीले कुल ५ करोड २६ लाख ९३ हजार ५ हजार ६९ रूपैयाँको अवैध सामग्री बरामद गरेको छ । जसमध्ये कपडा, सवारी साधन, इलेक्ट्रोनिक्सका सामग्री सबैभन्दा बढी बरामद गरेको झापा जिल्ला प्रहरी कार्यालयका एसपी भीमप्रसाद ढकालले बताए । उनका अनुसार जनपथले ३ करोड ८६ लाख ८८ हजार ६ सय ५९ रूपैयाँ र सशस्त्रले १ करोड ४० लाख ४ हजार ९ सय १० रूपैयाँ मूल्य बराबरको सामान बरामद गरेको हो । जनपथले एककरोड ७ लाख ७६ हजार ७ सय रूपैयाँ मूल्य बराबरको कपडाजन्य सामग्री बरामद गरेको छ ।

पछिल्लो तीनवर्षको तथ्याङ्क हेर्ने हो भने २०७२/०७३ मा सबैभन्दा बढी मूल्य बराबरको सामग्री बरामद गरेको छ । त्यसवर्ष जनपथले १८ करोड ४६ लाख ५१ हजार ९ सय ७३ रूपैयाँ र सशस्त्रले १ करोड ४० लाख १६ हजार २ सय ९६ रूपैयाँ मूल्य बराबरको सामग्री बरामद गरेको थियो । त्यो आ.व.मा १ करोड २२ लाख १३ हजार ७ सय ९० रुपैयाँ मूल्य बराबरको कपडाजन्य सामग्री बरामद गरेको हो ।  त्यही वर्ष प्रहरीले चन्द्रगढी विमानस्थलबाट २० तोला सुन बरामद गरेको एसपी ढकाल बताउँछन् । त्यो बेला पनि कपडा र सवारी साधनका सामग्री बढी बरामद गरिएको तथ्याङ्कले देखाउँछ । चालु आ.व.को साउन महिनामा जनपथ र सशस्त्रले २६ लाख ९१ हजार ३ सय २ रूपैयाँ बराबरको सामान बरामद गरेको छ । लत्ताकपडा, मोटर पार्टस् इलेक्ट्रोनिक्सका सामान बरामद गरिएको एसपी ढकालले जानकारी दिए । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका एसपी रेशमकुमार थाक्सूले तस्करी नियन्त्रण गर्न अभियान नै चलाएको बताए ।

तस्करी निस्तेज पार्न प्रहरी सक्रिय झापा प्रहरीले तस्करी नियन्त्रणमा चासो देखाएको छ । चाडपर्वलाई मध्यनजर गर्दै सीमाक्षेत्रमा हुने अवैध तस्करीलाई निस्तेज पार्न प्रहरी लागिपरेको छ । भारतीय सीमासँग जोडिएका झापाका दर्जनभन्दा बढी नाकाहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर सुरक्षा दिए पनि कारोबारीले अन्य मार्गबाट सामान भित्रायाउन थालेपछि प्रहरी लागिपरेको हो ।  झापाको भद्रपुरस्थित नेपाल बैङ्कछेउ, जनता चोक, भद्रपुर नगरपालिका पूर्व देवीबस्ती, श्मशानघाट, गणेश मन्दिर, नरसिंह चिया बगान, गौरीगञ्ज, कचनकवल, बुद्धशान्ति, मेचीनगर, काँकडभिट्टालगायत क्षेत्रमा प्रहरीले सक्रियता बढाएको हो । केही दिनअघि मात्रै प्रहरीले १ लाख ४७ हजार मूल्य बराबरको अवैध सामग्रीसहित एकजना कारोबारीलाई पक्राउ गरेको थियो ।