[caption id="attachment_92579" align="alignnone" width="1000"] गुगल[/caption]

पानवारी/ धरान उपमहानगरपालिका बालमैत्री नगर घोषणा गर्ने चरणमा छ । २० वडा रहेकोमा २ वटा वडा मात्रै बालमैत्री घोषणा भएका छन् ।  तर, नगरपालिकाले बिहीबार सञ्चारकर्मीसँगको बालमैत्री स्थानीय शासनका विषयमा भएको अन्तरक्रियामा बालमैत्री नगर घोषणातर्फ उन्मुख भएको दाबी गरेको छ । यो वर्षभित्र बालमैत्री नगर घोषणा गरिने सामाजिक विकास महाशाखा प्रमुख गणेश खतिवडाले बताए । हाल तीव्र रूपमा कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । हाल धरान–१३ र १४ वडा बालमैत्री वडा घोषणा भइसकेको छ । धरान–२० लाई समेत यही बालदिवसको अवसरमा घोषणा गर्ने तयारी गरेको छ । ४, ५ र ६ नं. वडामा ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । बा“की १४ वटा वडामा विभिन्न कार्यक्रम सञ्चालन भइहरहेको महाशाखा प्रमुख खतिवडाले जनाए ।

बालमैत्री नगर घोषणा भएका नगरमा बालअधिकारको सुनिश्चित हुने, बालबालिकाको क्षमतामा विकास हुने, बालबालिकाले आफ्नो योजना आफै बनाउने र छनौट समेत गर्ने लगायतका कामहरू सुनिश्चित हुने गर्छ । बालमैत्री नगरमा बालहिंसाका घटनाहरूमा समेत कमी आउने धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले बताए । बालमैत्री नगर घोषणा गर्न बालबालिका, अभिभावक, विद्यालय तथा विभिन्न सङ्घ–संस्था र स्थानीय तहले निश्चित आचार–संहिता पालना गर्नुपर्ने हुन्छ । बालबालिकाले अनिवार्य रूपमा विद्यालय जाने, बालबालिकालाई भेदभाव नगर्ने, आफ्ना हकअधिकारका बारेमा बोल्ने र कुरा राख्ने, भिन्न क्षमता भएका बालबालिकालाई सहयोग गर्नेलगायत बालभेला गरी वार्षिक योजना निर्माण गर्ने जस्ता आचार–संहिता पालना गर्नुपर्ने हुन्छ । त्यस्तैगरी अभिभावकले पनि आफ्ना छोराछोरीलाई नियमित विद्यालय पठाउने, बालश्रममा नलगाउने, बालविवाह नगरिदिने, कुलत तथा दुव्र्यसनमा फस्न नदिने, बालबालिकाको उचित हेरचाह गर्ने लगायतका आचार–संहिता पालना गर्नुपर्ने हुन्छ ।

त्यस्तै विद्यालय तथा सङ्घ–संस्थाले आफ्नो सेवा क्षेत्रभित्रका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, बालबालिका, अभिभावक र शिक्षकले पालना गर्नुपर्ने नीति नियमको बारेमा जानकारी गराउने, विद्यालय व्यवस्थापन समितिको बैठकमा एक बालक र एक बालिकालाई अनिवार्य सहभागी गराउने लगायतको आचार–संहिता पालना गर्नु पर्नेछ । स्थानीय तहले वडाको कुल लक्षित वर्गको बजेटबाट १५ प्रतिशत बालमैत्री प्रवद्र्धनमा विनियोजन गर्नुपर्ने, योजना छनौट गर्दा अनिवार्य बालबालिकालाई सहभागी गराउने, प्रत्येक वडामा बाल उद्यान बनाउने, भौतिक संरचना बनाउँदा बालमैत्री बनाउने जस्ता आचार–संहिता धरान उपमहानगरपालिकाले निर्माण गरेको छ ।