पानवारी / धरान उपमहानगरपालिकाले अत्यधिक कर वृद्धि गरेको भन्दै नेपाली काङ्ग्रेसले उपमहानगरपालिकाको मुख्य गेटअघि २ घण्टा धर्ना दिएको छ । धर्नामा धरानका २० वटै वडाबाट काङ्ग्रेसका कार्यकर्ताहरू सहभागी थिए । धर्नापश्चात् एकसाता लगाएर विभिन्न वडामा गरेको हस्ताक्षर सङ्कलन धरान उपमहानगरका कार्यवाहक नगरप्रमुख एवम् प्रवक्ता मणिराम राईलाई बुझाएको छ । बिहीबार नगरसभापति तिलक राईले हस्ताक्षर बुझाउँदै करको दर नघटेसम्म आन्दोलन जारी रहने बताए । उनले नगरले बढाएको करका विषयमा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराउने बताए ।

काङ्ग्रेसका कार्यकर्ताले कर वृद्धि फिर्ता गर, बहुमतको दम्भ देखाउन पाइँदैन, जनता मार्न पाइँदैन जस्ता नाराबाजीसमेत गरेका थिए । हस्ताक्षर बुझ्दै कार्यवाहक नगरप्रमुख मणिराम राईले काङ्ग्रेसले उठाएको मागप्रति गम्भीर रहेको बताए । उनले यस विषयमा छलफल गरी माग सम्बोधन गर्ने बताए ।