रङ्गेली । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सङ्घ, प्रदेश र स्थानीय तहबीच आपसी समझदारीको अभावमा अन्योलता सिर्जना भएको बताएका छन् । इँटा व्यवसायी महासङ्घकाे महाधिवेशनको बिहीबार विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री राईले तीन तहबीच पर्याप्त समन्वय आवश्यक रहेको बताए । ‘अहिले पनि सङ्घ र प्रदेश सरकारले बनाउनु पर्ने धेरै कानून निर्माण गर्न बाँकी नै रहेको छ’ उनले भने, ‘सङ्घीयताको भावनाअनुसार रूपान्तरण हुन बाँकी नै छ ।’ उनले तीन तहका बीच देखिएको असहजतालाई चिर्दै सरकार अगाडि बढ्ने जिकिर गरे । सङ्घीयताको अभ्यास भइरहेकाले जनतालाई मार पर्ने कानूनलाई आवश्यक परिमार्जन गरेर अगाडि बढ्ने उनले बताए । स्थानीय तहले जुन प्रकारको कर निर्धारण गरेको छ, त्यसलाई निदान गर्न प्रदेश सरकार लागिसकेको उनले बताए ।

उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री जगदीश कुसियतले देशको रोजगारीको समस्या हल गर्न इँटा उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गरे । सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्योगमैत्री वातावरण बनाउन सरकार हरसम्भव प्रयासरत रहेको बताए । उनले इँटा उद्योगमा नेपाली मजदुर न्यून हुने गरेको भन्दै त्यसतर्फ ध्यान पुर्याउन व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा उद्योगी तथा समाजसेवी बेनिगोपाल मुन्दडा, डा. मीनाक्षी नेपाल, पत्रकार शङ्कर खरेल, उद्योगी तथा रङ्गेली नगरपालिकाका मेयर दिलिप बगडिया, ऋषिमोहन रेग्मीलगायतलाई सम्मानित गरिएको थियो ।