पथरी । बर्षको छ महिना जंगलको निगुरो संकलन गरी बेचेर जीविको पार्जन गर्नेको भिड मोरङको उत्तरी बेल्डको आसपासमा उतिकै छ । बिहान बेलुकी हातमुख जोड्न बिहान खाजा बोकेर निगुरो टिप्न जंगल निस्किछन् । उनिहरुलाई जंगली हात्तिको पनि उतिकै डर हुन्छ । तर मोरङको लेटाङ –९, जाँतेमा निगुरो व्यवसायीहरु निगुरो टिप्न छाडेर शंखेकिरा टिप्न जाने गरेका छन् । स्थानीय सरकार तथा वडा नं. ९ वडाकार्यालयले शंखेकिरा टिपेको प्रति केजी २५ रुपैया तोकिदिए पछि त्यस तर्फ लागेका छन् । जंगलमा संकलित निगुरो रु १० मा बेच्छन् । हात्तिको पनि डर नहुने, निगुरो भन्दा शंखेकिरामा फाइदा देखे पछि केहि व्यक्तिहरु त्यस तर्फ लागेका हुन । जाँतेमा जाईन्ट अफ्रिकन स्नेल अर्थात ठुलो शंखेकिरा जातको संक्रमण दिनानुदिन बढे पछि वडा कार्यालयले नियन्त्रणको उपाया रोजेको हो ।
वडाले साउन १५ गतेबाट शंखेकिरा संकलन सुरु गरेको थियो । सुरुमा एकजनाले १ किन्टल पनि संकलन गरेको वडासदस्य इन्द्र ढकाल बताउँछन् । अहिले नियमित शंखेकिरा संकलन गर्ने १५ देखि २० जना सम्म रहेको ढकालले जनाए । बिहान र साँझमा देखिने यो किरा बालीको लागी धेरै विषालु रहेको विज्ञहरुको बुझाई छ । कुनै पनि वालीको पत्तालाई मात्र किराको जिब्रोले छोएमा सबै मर्ने गरेको त्यहाँका स्थानीयहरु बताउँछन् । पहाडको फेदी, खेतबारीमा ठुला ठुला ढुङ्गा ओसिला माटो र जंगल नजिक भएको कारण अत्याधिक शंखेकिरा उत्पादन भएको वडाध्यक्ष कृष्ण प्रसाद लुईटेल बताउँछन् ।
शंखेकिराको संख्या बढ्दा भविष्यमा ठूलो क्षति पुर्याउने भएकाले यसलाई समयमै नस्ट गर्नुपर्ने उनले बताए । जेठ,असार,साउन, भदौ र असोज सम्म खुल्ला ठाउँमा हिड्न सक्ने यो जीव २५० ग्राम भन्दा ठुलो हुने गरेको छ । यसको लम्बाई ८ इन्च र चौडाई ३ इन्च सम्म हुने गरेको छ ।
जाँतेको करेसाबारी,फूलबारी, खेतबारी जता ततै शंखेकिरा भेटिन्छ । शंखेकिराले किसानले लगाएको बर्खे बालि नष्ट गर्दै आएका छन् । १२ बर्ष अधि धाराको खानेपानी पाईप धरानबाट ल्याउँदा पाईपबाट शंखेकिरा जाँतेमा आएको वडाअध्यक्ष कृष्ण प्रसाद लुईटेल बताउँछन् । गर्मिमा ३ पटक फुल पार्ने शंखेकिराले एक पटकमा १५० वटा सम्म फुल पार्ने गरेकोले यस क्षेत्रमा छोटो समयमै संख्या बढाएको वडाध्यक्ष लुईटेल बताउँछन् । ४/५ बर्ष पहिले सम्म शंखेकिरा सामान्य मात्रामा देखिए पनि २ बर्ष अघिदेखि ब्यापक रुपमा फैलिएको कृषक खगेन्द्रप्रसाद निरौलाले बताए ।
अहिले जाँतेमा स्थानीयहरुले १८ किन्टल शंखेकिरा संकलन गरिसकेको छ । संकलित शंखेकिरा वडाकार्यालयले खोलाको बगरमा खाल्डो खनी नुन लगाएर पुरिन्दै आएको छ । आर्थिक बर्ष २०७५÷०७६ मा वडा कार्यालयले शंखेकिरा नियन्त्रण गर्न २ लाख बजेट छुट्याएको छ । सुरुमा १ लाख मात्र विनियोजन गरेको बजेटले नपुग्ने भएपछि नियन्त्रणकै लागी फेरी १ लाख खर्च छुट्याउने तयारी रहेको वडा कार्यालयले जनाएको छ । वडा नं. ९ मा ७ वटा टोल विकास संस्था गठन गरेको छ । प्रत्यक टोल विकास संस्थामा २ ठाउँमा संकलन केन्द्र गरी जम्मा १४ स्थानमा संकलन केन्द्र राखेको छ । प्रत्येक संकलन केन्द्रमा शंखेकिरा तराजुमा नाप्ने व्यक्ति राखेको छ । तराजुमा शंखेकिरा नापे बापत रु ५ रुपैया वडा कार्यालयले दिइने छ ।
यसले कृर्षीमा मात्र नभएर वातावरणीय र स्वास्थमा पनि असर गर्ने विज्ञहरु बताउँछन् । बिहान र रातको समयमा देखिने यो जीव ओसिलो क्षेत्र रुचाउँछ । धेरै उच्च र धेरै कम तापक्रममा नबाच्ने भएकाले तराई र मध्यपहाडी क्षेत्रमा शंखेकिरा पाउने गरेको हो । साविकको जाँते गाविस विषेश गरेर तरकारीका लागि उर्वर भूमि मानिन्छ । यस क्षेत्रमा किसानलाई खेति गर्न मुश्किल पर्न थालेको र यसको प्रकोपबाट जोगाउनका लागि वडाले योजना ल्याएकाले नगरले पनि यसमा साथ सहयोग गर्ने लेटाङ नगरपालिकाको उप–प्रमुख कृष्ण कुमारी निरौलाले बताइन् ।
.