भद्रपुर । सवारी दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका २ डिगाउँकी ७५ वर्षीया फूलमाया तामाङ र इलाम देउमाई नगरपालिका ८ का २२ वर्षीय समीर खनाल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिका–२ स्थित डिगाउँको भित्रि सडक खण्डमा मे२प ५६२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई बिहीबार साँझ ठक्कर दिएको थियो । गम्भिर घाइते तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । तामाङ्लाई ठक्कर दिने मोटरसाइकल चालक भद्रपुर नगरपालिका १ का ३१ वर्षीय जितबहादुर रायमाझी सामान्य घाइते भएका छन भने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका २ रामचोकमा ना ४ ख ४६५६ नम्बरको मालवाहक ट्रकले मे ५ प १८१८ नम्बरको मोटरसाइकललाई बिहीबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार खनालको घटनास्थलमै मुत्यु भएको डिएसपी बस्नेतले जनाए । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय निर्मल कट्टेलको बिर्तामोडमा उपचार भइरहेको छ भने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।