पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका निवासी १ नम्वर प्रदेश सांसद कृष्णकुमारी राईलाई तीजको अवसरमा नगरको ३ नम्वर वडाका महिलाहरुले आज सम्मान गरेका छन् ।

वडा महिला समूहको आयोजनामा तीज नृत्य प्रतियोगिता सहितको कार्यक्रममा सांसद राईलाई समूह अध्यक्ष भला रेग्मीले दोसल्ला ओढाएर सम्मानित गर्नुभएको हो ।

तीज मिलनमा विगत ४ वर्षदेखि नृत्य प्रतियोगिता सहितको सांस्कृतिक कार्यक्रम गर्दै आएको समूहले अव वडाका ५ जना विपन्न महिलालाई सीपमुलक तालिम दिएर व्यवसाय सञ्चालन गर्ने सहयोग समेत गर्ने समूह सचिव राधिका गौतमले उद्घोष गरिन् ।

१७ जातिको समावेशी तीज

नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत नगरमा रहेका १७ जातजातिको जातीय समावेशी तीज कार्यक्रम हुने भएको छ । भदौ २१ गते पथरीको नर्मदेश्वर शिवालय मन्दिरमा हुने तीज कार्यक्रममा १७ जातजातिका सांस्कृतिक प्रस्तुतिको सांस्कृतिक अन्तरघुलनका साथै ३० वर्ष उमेर कटेका महिलाहरुबीच एकल नृत्य प्रतियोगिता हुने भएको छ । साथमा तीजलाई भड्किलो नवनाई विपन्न महिलाको समेत साझा र खुसीको पर्व बनाउने सन्देशको नाटक समेत प्रस्तुत हुने कार्यक्रम मुल आयोजक समिति संयोजक कार्यपालिका सदस्य अरुणा राईले जनाइन् ।