इटहरी/ नेपाल ट्रेड युनियन काङ्ग्रेस राष्ट्रिय समितिका अध्यक्ष पुष्कर आचार्यले राज्यले जारी गरेको मजदुरको न्यूनतम पारिश्रमिक रोजगारदाताले जुनसुकै हालतमा उपलब्ध गराउनु पर्ने बताएका छन् ।  सुनसरीको दुहवीमा नेपाल कारखाना मजदुर काङ्ग्रेसले बुधबार आयोजना गरेको श्रम ऐन २०७४ तथा सामाजिक सुरक्षा ऐन एवम् न्यूनतम पारिश्रमिक कार्यक्रममा बोल्दै आचार्यले सो कुरा बताएका हुन् । मजदुर वा श्रमजीवि नेपाली नागरिकले प्राप्त गर्नुपर्ने श्रमको उचित गर्ने उनको आग्रह थियो । कार्यक्रममा बरिष्ठ राष्ट्रिय उपाध्यक्ष महेन्द्र यादवले मजदुरको पक्षमा न्यायोचित आवाज उठाउनका लागि नै नेपाली काङ्ग्रेसले मजदुर आन्दोलनबाट राजनीति अघि बढाएको बताएका थिए । साथै सोही अवसरमा राष्ट्रिय उपमहासचिव ज्योति कोइरालाले काङ्ग्रेसले जहिल्यै मजदुरको पक्षमा सङ्घर्ष गर्न तयार रहँदै आएको बताए । उनले भने, ‘हामी मजदुरको पक्षमा बोल्न डराउँदैनौ ।’