विराटनगर । विराटनगर महानगरपालिकामा बम विस्फोट गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले लामो समयसम्मको अनुसन्धानपछि सिरहाको लक्ष्मीपुरपतार गाउँपालिका –३ हरिनगर नयाँ टोलका २० वर्षीय अभिमनु गिरी, सिरहाकै सुखीपुर नगरपालिका – ५ का २४ वर्षीय रामरिझन यादव र मोरङको जहदा गाउँपालिका – २ हरिनगराका ५३ वर्षीय मनोजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङ प्रहरी र १ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले विभिन्न स्थानबाट विस्फोट गराउने आरोपीहरुलाई पक्राउ गरेपछि आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरि सार्वजानि गरेको हो ।
बम विष्फोटमा जयकृष्ण गोइत नेत्रृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ती मोर्चा (क्रान्तिकारी) को संलग्नता पुष्टि भएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले लामो समयको अनुसन्धानपछि ठूलै मेहनत गरेर विष्फोटमा संलग्नलाई पक्राउ गर्न सकिएको जानकारी दिए । महानगरपालिका कार्यालयमा गत साउन २७ गते दिउँसो २ बजे बम विष्फोट गराइएको थियो । विष्फोटमा संलग्न मध्ये एक जनालाई विराटनगरबाट र दुई जनालाई सिरहा जिल्लाबाट पक्राउ गरिएको एसपी केसीले बताए ।
महानगरपालिकामा विष्फोट गराउने योजना गत जेठ महिनामै भारतको दरभंगामा बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी केसीले बताए । ‘गोइत समूहमा आवद्ध सिरहाको धनगडी नगरपालिका ३ का विक्की भनिने विरेन्द्रकुमार यादवको योजनामा बैठक बसेर विष्फोटको योजना बनाइएको अनुसन्धानबाट देखिन्छ,’ एसपी केसीले भने, ‘यादव योजना बनाउने तहमा देखिए पनि घटनामा उनको संलग्नता भने देखिएन ।’ योजना कार यादव फरार रहेको प्रहरीले जनाएको छ । यादवको खोजी कार्य तिव्र भइरहेको प्रहरीको भनाई छ ।
‘पक्राउ परेका मनोजकुमारले चलाएको मोटरसाइकलको पछाडि बसेर अभिमनुले महानगरपालिका कार्यालय भित्र बम लगेको सिसी क्यामाराको फुटेजमा देखिन्छ,’ एसपी केसीले भने, ‘बम राखेर केही समय पछि उनी हिड्दै महानगरबाट निस्केको फुटेज प्रष्ट देखिन्छ । त्यसपछि पक्राउ परेका रामरिझनले रिमोटमार्फत नगरपालिका गेट नजिकै बसेर विष्फोट गराएको अनुसन्धाबाट खुलेको छ,’ एसपी केसीले भने ।
महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै प्यासेजमा रहेको सोफा मुनी राखेर बम विष्फोट गराइएको थियो । विष्फोटबाट पराजुलीले चढ्दै आएको गाडीको सिसा फुटेको थियो । सोफा र प्यासेजमा रहेको दराज धुजाधुजा बनेको थियो । कार्यालयको झ्यालका सिसा पनि फुटेका थिए । घटनाको योजना बनाउने विरेन्द्रकुमार र घटनामा संलग्न राहुल यादव फरार रहेका कारण उनीहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ । पक्राउ परेका तीन जना विरुद्ध भने विष्फोटक पदार्थ सम्बन्धी कसूरमा आइतबार मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको एसपी केसीले बताए ।