पानवारी / भोजपुर नगरपालिका वडा नं. १३ बोया निवासी लिलाबहादुर श्रेष्ठ छोराको दुवै मृगौला खराब भएपछि अहिले उनी रातदिन छोराको उपचारको लागी छटपटिन्छन् । नेपाल टेलिकम दुरसञ्चार कार्यालय भोजपुरमा ज्यालादारीमा काम गरिरहेका २९ वर्षिय छोरा ज्ञानबहादुर श्रेष्ठको दुबै मृगौला खराब भएर थला परेपछि अहिले उनलाई छोराको उपचार कसरी गराउने भन्ने चिन्ताले पिरोलेको छ । ७० वर्षिय बुवा भने –‘कमाएर खुवाउने छोरा थलापरेपछि अहिले परिवारमा हातमुख जोर्न समेत समस्या छ, घरमा हामी बुढाबुढी र छोरा बुहारी अनि २ वर्षे नाती छ ।’ १२ वर्ष टेलिकममा ज्यालादारीमा काम गरेका ज्ञानबहादुरको अहिले जागिर समेत छैन । उनले भने –‘गर्न सकुन्जेल मात्रै जागिर थियो, बिरामी भएको भोलिपल्टदेखि नै जागिर गयो ।’ छ महिना अघि टाउको दुखेपछि उनी उपचार गराउन धरान झरेका थिए । उनले विराटनगरका विभिन्न अस्पतालमा उपचार गर्न पुगे तर उनका दुवै मृगौला खराब भएको भन्दै अस्पतालले तुरुन्त मृगौला प्रत्यारोपण गर्न भनेको छ । उनी अहिले धरानमा दिदीको घरमा बसेर विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डायलाइसिस गरिरहेका छन् । उपचार गर्दा अहिलेसम्म ५÷६ लाख खर्च भइसकेको बताउँछन् उनी । ‘छोराको मृगौला प्रत्यारोपण गर्न ढिलो भयो भन्दै डाक्टरले भन्छन्, आफुसँग पैसा छैन’ –बुवा लिलाबहादुर श्रेष्ठले भने । अब कमाउने छोरा थला परेको छ, यसको उपचार गर्न नसकै यहीसँगै मर्ने भइयो । उनले छोराको उपचारको लागी सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । उनी भन्छन् –‘कसरी उपचारको लागी सहयोग जुटाउने, कहाँ लगेर छोराको उपचार गराउने भनेर केही थाहा नभएको भन्दै उनी कसैले सहयोग गरे छोरो बाच्ने थियो ।’ उनलाई सहयोग गर्न चाहनेले उनको मोबाइल नं. ९८६००२२२२ मा सम्पर्क गर्न सक्नुहुनेछ ।