उर्लाबारी/एक वर्षअघि बक्राहा खोलाको बाढीले क्षति पुर्याएको दाहसंस्कार स्थल हालसम्म मर्मत नहुँदा अन्त्येष्ठीमा असुविधा उत्पन्न भएको छ । नगरको एकमात्र दाहसंस्कार स्थल मर्मतमा चासो नदिँदा अन्त्येष्ठीका लागि अन्यत्र जानुपर्ने बाध्यता आइलागेको छ । उर्लाबार–४ स्थित बक्राहा पुलमुनी निर्मित दाहसंस्कार स्थल हालसम्म मर्मत नहुँदा समस्या भएको हो । उक्त स्थलमा दैनिक एकजनाको अन्त्येष्ठी गर्ने गरिएको स्थानीय बताउँछन् । उक्त स्थल तीन वर्षअघि बक्राहा घाट निर्माण तथा संरक्षण समिति उर्लाबारीले निर्माण गरेको थियो । क्षति पुर्याएको एक वर्षपछि बल्ल समितिले निर्माणको तयारी थालेको छ । जनस्तरबाट करिब १६ लाख रुपैयाँ जुटाएर घाट निर्माण गरिएको थियो । खोला कटानले क्षति पुर्याएपछि अन्त्येष्ठी गर्न समस्या परेको स्थानीय मनोज लुइटेलले बताए ।

समितिले उर्लाबारीमा व्यवस्थित घाट निर्माणका लागि २ करोड ९० लाख रुपैया“ बराबरको कार्ययोजनासहित तीन वर्षमा पूरा गर्ने तयारी भएको समितिका अध्यक्ष गङ्गाप्रसाद खरेलले बताए । कार्ययोजनाअनुसार तटबन्धन, ३ कठ्ठा जग्गा खरिद, दाहसंस्कार स्थल निर्माण, कर्मयोग भवन, मलामी विश्राम, खानेपानीको व्यवस्थापन, पुष्प बाटिका, चौकीदार भवन, मलामी खाजाघर निर्माण, जेनेरेटर खरिद आदि कार्य अगाडि बढाए पनि सम्बन्धित कार्यालयहरूबाट सहयोग प्राप्त नभएकाले कार्य गर्न नसकिएको अध्यक्ष खरेलले बताए । नगरपालिकाका नगरप्रमुख खड्ग फागोले राजमार्ग र पर्यावरणमा प्रभाव नपर्ने गरी एउटै स्थानमा व्यवस्थित घाट निर्माण गरिने बताए ।