विराटनगर/ एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आर्थिक विकास र समृद्धिको यात्रामा सहकारीको भूमिका अपरिहार्य रहेको बताएका छन् । मोरङको बूढीगङ्गा गाउँपालिका – १ टङ्कीसिनवारीमा रहेको राजसती महिला बहुउद्धेश्यीय सहकारी संस्था लि. को १८ औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री राईले सहकारीसँग साझेदारी र सहकार्य गरेर प्रदेश सरकार अगाडि बढने बताए ।
उनले आर्थिक क्षेत्र र समद्धिमा सहकारीको एउटा खम्बाको रूपमा रहेकोले पारदर्शी योजना बनाएर अगाडि बढनुपर्नेमा जोड दिए । आर्थिक रूपमा सक्षम बनाउन सहकारीको भूमिका ठूलो रहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले सहकारीलाई प्राथामिकतामा राखेको बताए । ८ सय २५ जना शेयर सदस्य रहेको सहकारीको आर्थिक वर्ष २०७४/०७५ मा बचत निक्षेप ५ करोड ६९ लाख ९५ हजार ९ सय ३ रुपैयाँ रहेको सहकारीका अध्यक्ष तारादेवी राईले जानकारी दिइन् । त्यस्तै शेयर निक्षेप ७८ हजार ४ सय ८० रुपैयाँ रहेको छ । सहकारीमा ७ सय ७४ जनाले नियमित बचत गर्दै आएका छन् भने समूहमा बचत ४० जनाको रहेको बताइएको छ । सहकारीले ३ सय ७० जनालाई ६ करोड ५७ लाख ४२ हजार ७ सय ८८ रुपैयाँ ऋण लगानी गरेको छ । चालू आर्थिक वर्षमा ७ करोड रुपैयाँ कर्जा लगानी गर्ने लक्ष्य सहकारीको छ । सहकारीले आर्थिक वर्ष ९७ लाख ५९ हजार ८ सय ४५ रुपैयाँ आम्दानी गरेको छ ।
सहकारीको वार्षिक साधारण सभाको अवसर पारेर ७५ वर्ष पूरा गरेका २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरियो । त्यस्तै ३ जना एकल महिला, ६५ वर्ष पूरा गरेका ७ जना ज्येष्ठ महिला, सरकारी र निजी विद्यालयहरूबाट उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण हुने १० जना विद्यार्थीहरूलाई सहकारीले सम्मान गरेको थियो । सम्मानित हुनेहरूलाई मुख्यमन्त्री राई र सहकारीका अध्यक्ष राईले गरे । यो सहकारी महिला मात्र आबद्ध भएको सहकारी हो ।