पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरका जनप्रतिनिधिहरु नाटकका कलाकार बनेका छन् ।

नगरपालिकाका महिला जनप्रतिनिधिहरुद्धारा भदौ २१ मा तीजको अवसरमा आयोजित नगरस्तरीय कार्यक्रममा प्रदर्शन हुने ‘घाँटी हेरी हाड निलौं’ नामक नाटकका उनीहरु कलाकार हुन् । त्यस नाटकमा अभिनयका लागि उनीहरु आइतबारदेखि अभ्यासरत छन् ।

त्यस कार्यक्रममा अतिथिको स्वागतका लागि महिला जनप्रतिनिधिहरुबाटै सामुहिक नृत्य समेत प्रस्तुत हुने कार्यक्रम संयोजक अरुणा राईले सुनाइन् । नगरका महिलाहरुलाई सृजनशील बनाउन उत्साह भर्ने क्रममा यसखाले कार्यक्रम बनाइएको उल्लेख गरिन् ।

भूपेन्द्र तिम्सिनाको लेखन र निर्देशन रहेको नाटकमा कार्यपालिका सदस्य गीता विश्कर्मा, नगरपालिका सदस्य सृजना भट्टराई सहितले अभिनय गर्नेछिन् । साथमा भूपेन्द्र तिम्सिना, कमला घिमिरे नेपाल, भिष्म न्यौपाने, मेनुका कुलुङ, जानुका आचार्य, टीका लुइटेल र अंकिता कुलुङ छन् । नाटकले चाडपर्व भड्किलो नबनाउने सन्देश बोकेको छ ।

शब्दले स्वागत गर्ने साटो नृत्यले स्वागत गर्ने तय भएको कार्यक्रममा कार्यपालिका सदस्य मैनादेबी फुयाँल आचार्य, निर्मला गदाल, मैनाकुमारी राई लिम्बू, गीता विश्वकर्मा र नगर सदस्य सृजना भट्टराईको नृत्य रहनेछ ।

नगरको महिला लक्षित कार्यक्रम अन्तर्गतको तीज कार्यक्रममा नाटक, नृत्यका साथै ३० वर्ष उमेर कटेका महिलाहरुको एकल नृत्य प्रतियोगिता र नगरमा रहेका सबै जातजातिको जातीय सांस्कृति प्रस्तुति समेत रहने छ ।