मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले मिक्लाजुङ गाउँपालिकाले गरेका कार्यहरुप्रति कुनै शंका रहे निर्धक्क राख्न आह्वान गरेका छन । शनिबार मोरङको मिक्लाजुङ गाउँपालिकाले मिक्लाजुङ गाउँपालिकाको वडा नं. ८ को वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा आचार्यले सो कुरा बताएका हुन । मिक्लाजुङ गाउँपालिकाले प्रत्येक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय अनुसार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । शनिबार आर्थिक पारदर्शीता र सुशासन र नागरिकहरुलाई सूचनाको हक सुसुचित गराउने साथै नागरिक सचेतनामा वृद्धि गराउने उद्धेश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको गरिएको वडा नं. ८ का वडाध्यक्ष नगेन्द्र कार्की (नवीन) ले बताए । मिक्लाजुङ गाउँपालिका वडा नं. ८, मा गत आर्थिक वर्ष २०७४/०७५ मा भएका योजनाहरु र त्यसको लागत र आर्थिक पारदर्शीतामा केन्द्रित सार्वजनिक सुनुवाईमा स्थानिय नागरिकहरुले राखेको प्रश्नहरुको जवाफ वडाध्यक्ष नगेन्द्र कार्कीले दिएका थिए । मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा यस वर्ष भएका योजनाहरु र तिनमा भएको खर्च विवरण उपभोक्ताका लागि मान्य भएको देखिन्थ्यो । प्राय गरेर सार्वजनिक सुनुवाई कार्यक्रममा निक्कै रस्सा कस्सी र घम्सा घम्सी देखिने कार्यक्रममा मिक्लाजुङ गा.पा. वडा नं. ८ मा भने त्यस्तो देखिएन । वडामा गएको रकम पूर्ण रुपमा खर्च भएको र खर्च गर्ने तरिकामा पारदर्शिता रहेकै कारण हुनु पर्छ खास आर्थिक अनियमितताको कुनै प्रश्न उठेनन् । सहभागीले राखेका प्रश्नहरुको जवाफ वडा अध्यक्ष कार्की र गाउँपपालिका अध्यक्ष देवी प्रसाद आचार्यले दिनु भएको थियो । कार्यक्रममा सहभागीहरुले स्थानीय वडा स्तरमा भएका योजनाहरुको सञ्चालनमा भएका कमी–कमजोरी र राम्रा पक्षहरुको बारेमा प्रश्न राखेका थिए । प्रत्येक योजनाहरुमा आर्थिक पारदर्शिता र सुशासनलाई उच्च प्राथमिकतामा राखी योजानाहरु सञ्ंचालन गरिएको वडाध्यक्ष कार्कीले बताए । कार्यक्रममा विद्यालयहरुको तर्फबाट पदम बहादुर पौडेल, संघसंस्था प्रतिनिधि शेरबहादुर बस्नेत, बालकुमार भण्डारी र रमेश बस्नेत, राजनैतिक दलका प्रतिनिधिहरु राप्रपाका प्रतिनिधि मानबहादुर पौडेल, नेका वडा सभापति महेन्द्र शाह, नेकपा प्रतिनिधि प्रवेश कुंवर, नरेन्द्र प्रसाद ढुङ्गेलले कार्यक्रमको बारेमा र अब गर्न बाँकी कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम वडा नं. ८ का वडाध्यक्ष नगेन्द्र कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।