भद्रपुर । झापाको एक क्यासिनोबाट चोरी भएको रकम नौ दिनपछि क्यासिनो कै कर्मचारीबाट प्रहरीले फेला पारेको छ । मेचीनगर नगरपालिका– ६ स्थित काँकरभिट्टा बजारमा रहेको एसेस लाउण्डा मिनि क्यासिनोमा चोरी भएको रकम सोही क्यासिनोमा इलेक्ट्रीसियनमा काम गर्ने कर्मचारी सोही वडा स्थित सालघारीका २५ वर्षिय मिलन श्रेष्ठबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

क्यासिनोबाट भदौ–९ गते ११ लाख ९३ हजार नगद चोरी भएको घटनामा प्रहरीले गरेको अनुसन्धानमा मानिससहित रकम फेला पारिएको डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाए । ९ गते राती क्यासिनोमा रहेको गेम एरियामा भएको कर्मचारीहरुको टिप्स रकम राख्ने दराज फुटाई ११ लाख ९३ हजार चोरी भएको थियो । सोही क्यासिनोको उत्तर तर्फको ढोकाबाट माथि चढने सिडिको फेदको देब्रेपट्टि साईडमा रहेको कम्यूटरको इपिएस भित्र कालो प्लाष्टिकमा पोकोपारी लुकाएको अवस्थामा आइतबार साँझ फेला पारिएको डिएसपी बस्नेतले जनाए । बरामद गरिएको सामान सहित श्रेष्ठमाथि थप अनुसन्धान भई रहेको बस्नेतले जानकारी दिए ।