भद्रपुर । मेची अञ्चल अस्पताल भद्रपुरलाइ १ सय २० ओटा सिरानी वितरण गरिएको छ । श्रीकृष्ण जन्माष्ठमीको अवसर पारेर विभिन्न दाताले निःशुल्क रुपमा सहयोग गरेको सिरानी वितरण गरिएको हो ।

स्थानीय रुद्र निरौलाले आषिश भाडा पसल, पिङ्की रौनियार, सूर्य खडका, सुमन श्रेष्ठलगायत १९ जना दाताबाट सङ्कलन गरिएको सिरानी सामुदायिक प्रहरी सेवा केन्द्रको व्यवस्थापनमा सोमबार बिहान गएको टोलीले वितरण गरेको हो । जिल्ला समन्वय समिति उपप्रमुख मिना पराजुलीको प्रमुख आतिथ्यमा बिरामीको वेडमा सिरानी दिइएको थियो । टोलीले गाइनो वार्डमा २५ ओटा, मेडिकलमा ३०, सर्जिकलमा ३०, पेडियाट्रिकमा १५, आकस्मिक कक्षमा १० र पोषण पुर्नस्थापनामा १० गरी १ सय २० ओटा सिरानी वितरण गरिएको स्थानीय रुद्र निरौलाले बताए । बिरामीलाइ सिरानी नहुँदाको समस्यालाइ मध्यनजर गरी यो कार्य गरिएको उनले जनाए ।

कार्यक्रममा सामुदायिक कर्मचारी, अस्पतालका मेडिकल सुपरीटेण्ड डाक्टर पिताम्बर ठाकुर, दाता, पत्रकार लगायतको सहभागिता रहेको थियो । आयोजकले सोमबार बिहान प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा सुरक्षा निकायसहितको औपचारिक कार्यक्रम गर्ने तयारी गरेको थियो । तर, चिकित्सकको आन्दोलनका कारण डाक्टर ठाकुरले औपचारिक कार्यक्रममा समस्या हुने जानकारी गराएपछि कार्यक्रम स्थल पुगेका व्यत्तिहरु अलमलमा परेका थिए । अस्पतालमा ल्याएको सामा बुझ्ने तर औपचारिक कार्यक्रम नगर्ने जनाएपछि आयोजक लगायत दाताहरुले बिरामीको वेडमा नै पुर्याएका थिए ।