पाँचथर । पाँचथर–इलाम सिमावर्ती राँके बजारमा आइतबार राती आगलागी भएको छ । आगलागीबाट दुई करोड दश लाख ५४ हजार रुपैंयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय राँकेका इन्चार्ज लीलाराज ढकालले बताए ।

बजारको इलाम तर्फको देउमाई नगरपालिका–१, का ठालुराम श्रेष्ठको घरमा राती ८ः३० बजे आगो लागेको थियो । उक्त घरमा श्री बिष्टले फेन्सि पसल र तीलबहादुर बस्नेतले किराना पसल सञ्चालन गर्दै आएका थिए । आगलागीमा परी दुबै पसल जलेका छन् भने छिमेकी नरबहादुर श्रेष्ठको घर पनि जलेको छ ।

ठालुरामको एक करोड र नरबहादुरको दश लाख बराबरको घर, ५० श्री बिष्टको ५० लाख बराबरको फेन्सि पसल, तिल बहादुर बस्नेतको ४५ लाख बराबरको किराना पसल, नगद दुई लाख ८० हजार, दुई लाख ५० हजार बराबरको सुन र २४ हजार बराबरको चाँदी जलेर नष्ट भएको प्रहरीले इलाका प्रहरी कार्यालय राँकेले जनाएको छ ।

आगो फिदिमबाट गएको दमकलले राती ११ बजे नियन्त्रणमा लिएको थियो । आगालागी नियन्त्रणको लागि इलामबाट हिंडेको दमकल भने बीच बाटोमै बिग्रिएर घटनास्थल नै पुग्न सकेन । आगो कसरी लाग्यो भन्ने खुल्न बाँकि रहेको बताइएको छ । चार वर्ष अघि पनि राँके बजारमा आगलागि भएको थियो । त्यतिबेला १३ घर जलेका थिए ।