पानवारी । धरान–इटहरी सडक खण्डमा आइतबार राति दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । राति करिब १० बजेको समयमा दुर्घटना भइ घाइते भएर सडकमा लडेको अवस्थामा इलाका प्रहरी कार्यालयको टोलीले घाइतेलाई उद्दार गरेको थियो । उद्दार गरेर विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागी ल्याएपछि उनको मृत्यु भएको थियो । मृतक धरान–१५ निवासी डम्बरबहादुर विक रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाका अनुसार विभिन्न सञ्चार माध्यममा मृतकको सनाखत नभएको समाचार प्रकाशन भएपछि मृतकको परिवार खोज्दै इलाका प्रहरी कार्यालय आइपुगेको बताए । मृतक विक कहिलेकाही घरबाट त्यसै हिड्ने गरेका थिए । उनी फेला परेको ठाउँमा सवारीको सिसा फुटेर त्यसको टुक्रा समेत रहेकोले सवारी दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।