घण्टाघर/धरानमा मिस स्टेट १ को तालिम शुरू भएको छ ।  पूर्वाञ्चल बागिना कला केन्द्रद्वारा आयोजित प्रतियोगितामा सहभागी १८ जना युवतीले धरान–१५ बगरकोटस्थित होटल वाबु लञ्ज एण्ड बारमा विभिन्न प्रकारका तालिम शुरू भएको हो । सहभागीहरूको व्यक्तित्व विकासका लागि विभिन्न प्रशिक्षण तथा फिल्ड भिजिटलगायतका तालिम दिइने कोरियोग्राफर मेरिना तुम्साले जानकारी दिइन् । र्याम्प वर्क, विभिन्न व्यक्तित्व विकास, उद्घोषणकलालगायतका तालिम दिइने उनको भनाइ छ ।

१५ देखि २७ वर्ष उमेर समूहका अविवाहित युवतीलाई देशको भाषा, कला, संस्कृति, पर्यटन, अर्थतन्त्र, राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रको बारेमा सुसूचित गराउँदै कलाको माध्यमद्वारा समुन्नत राष्ट्र निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक भक्तिराज राईले जानकारी दिए ।  यस्तै मिस स्टेटको विजेतालाई क्राउन, स्कुटी र अवार्ड प्रदान गरिनेछ भने फस्ट रनर अपलाई ५० हजार, क्राउन र अवार्ड र सेकेण्ड रनर अपलाई २५ हजार, क्राउन र नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैबीच सोमबार भएको पूर्वाञ्चल सिङ्गिङ स्टार–६ को तेस्रो चरणको अडिसनबाट ५० जना प्रतियोगी छनौटमा परेको उनले बताए । ८० जनाबाट ५० जना छनौट गरिएको उनको भनाइ छ । प्रतियोगितामा विजेतालाई ५० हजार नगद, २ वटा गीत रेकर्ड, १ वटा म्युजिक भिडियो, १ वर्ष निःशुल्क म्युजिक कोर्ष साथमा गिटार प्रदान गरिने उनले जानकारी दिए ।