उदयपुर । उदयपुरको रमणीय र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रौता पोखरीलगायतका स्थानमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय तहले गुरुयोजना ल्याएको छ । रौतामाई गाउँपालिकाले रौतापोखरी प्रस्तावित गुरु योजनामा अनुमानित १५ करोड १० लाखको बजेट योजना प्रस्तुत गरेको हो । गाउँपालिकाका मुख्य धार्मिक पर्यटकीय स्थल रौता पोखरी विकास र व्यस्थापनसँगै ओढारे झरनाको विकास रौता र माझखर्कमा भ्युटावर निर्माणको गुरु योजना नमुनासहित सार्वजनिक गरेको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको रौता पोखरीबाट करिब ८ वटा प्रसिद्ध हिमशिखर अवलोकन गर्न सकिन्छ । मनमोहक प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रौता पोखरीबाट सर्वोच्च शिखर सरगरमाथा, चोयु महालङ्गुरलगायतका प्रख्यात ८ वटा हिमशिखरको सहज रूपले अवलोकन गर्न सकिन्छ । योजनामा चरणबद्ध रूपले विकासको काम गर्ने भएको छ । पहिलो चरण ४ करोडको बजेट मध्यबाट तीन करोडले रौता पोखरीमा २ वटा मन्दिर र ल्याण्डस्केपिङ् र एक करोडले माझाखर्क भ्यूटावरको निर्माण कार्य गर्ने रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । दोस्रो चरणमा ४ करोड पार्किङ र रिसोर्ट , तेस्रो चरणमा रौता भ्यूटावर र प्याराग्लाइडिङको लागि २ करोड ८० लाख, चौँथो चरणमा पर्खाल, विश्राम स्थल, बुद्धको मूर्ति र ओढारे झरनाको विकास र निर्माणका लागि ४ करोड ३० लाखको अनुमानित बजेट खर्च हुने अध्यक्ष खड्काले बताए । कार्यक्रममा प्रदेश सभासद् र अधिकांश नगर र गाउँपालका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । परिकल्पनाकार प्रेम शर्मा र डिजाइनर प्रकाश जीसीको डिजाइनमा काल्पनिक रौता पोखरी, भ्यूटावर भिडियोमार्फत परिकल्पनाकार प्रेम शर्माले प्रस्तुत गरेका थिए । प्राकृतिक सम्पदा र जैविक विविधतामा आँच नआउने गरी विकास गर्नु पर्नेमा सहभागीले सुझाव दिएका थिए । प्रदेश सरकारबाट पर्यटन प्रवद्र्धनका लागि केही बजेट छुट्याउन सफल भएको र सदैव प्रदेश सांसद्को साथ सहयोग रहने प्रदेश सांसद् नारायण बुर्जामगरले बताए । प्राकृतिक सम्पदालाई विकासको नामले संरचना बिगार्नु भन्दा संरक्षण गर्नु पर्ने, भ्यूटावर बनाउन भन्दा भ्यू प्वाइन्टको खोजी गर्नु पर्ने, धार्मिक आस्था रहेको पोखरीलाई बुझेरमात्रै निर्माण व्यवस्थापन गर्नु पर्ने, पोखरी आसपासमा कुनै भौतिक संरचना निर्माण गर्न नहुनेमा पत्रकार महासङ्घ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चाम्लिङले सुझाव दिएका थिए ।