बिर्तामोड । वीरता जेसीज र बिर्तामोड एजुकशेन फाउण्डेशनको सहकार्यमा सञ्चालित विपन्न परिवारका २० जना विद्यार्थीलाई ६ महिने निःशुल्क कम्प्युटर कक्षाको समापन भएको छ ।
वीरता जेसीजको सचिवालयमा आयोजित समारोहमा कम्प्युटर शिक्षा कक्षामा सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड एजुकेशन फाउण्डेशनका सञ्चालक राज कार्कीले जेसीजसँग सहकार्य गरी विपन्न विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि कम्प्युटर शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि सहकार्य र सहयोगका साथ अघि बढ्ने बताए ।
वीरता जेसीजका अध्यक्ष गिरीले दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्याउन गुणस्तरीय शिक्षाका लागि निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको बताए । प्रशिक्षार्थी मध्येबाट विवेक भण्डारीले कम्प्युटर शिक्षा प्रभावकारी भएको र आफ्नो जीवनका लागि उपयोगी हुने बताए ।
गत जेठ ३० गते झापा, इलाम र पाँचथरका २० जना विपन्न परिवारका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर शिक्षा कक्षाको शुरुवात भएको थियो । विद्यार्थीले रोजेकै कोर्षहरुमा शिक्षा प्रदान गरिएको थियो । कम्प्युटरको आधारभूत कोर्ष, ग्राफिक्स डिजाइनिङ, एकाउन्टिङ प्याकेज, कप्म्युटर अपरेटर, हार्डवेयर एण्ड नेटवर्किङ सम्बन्धी कोर्षमा विद्यार्थीले शिक्षा लिएका थिए ।