धरान/ धरान–१५ स्थित ज्ञानोदय माविका विद्यार्थीहरूले विज्ञानको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेर शुक्रबार प्रदर्शन गरेका छन् ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले विज्ञानका सैद्धान्तिक ज्ञानलाई अभ्यासका माध्यमबाट ‘विज्ञान तथा हस्तकला’ प्रदर्शनी गरेका हुन् । कक्षा ६ र ७ का विद्यार्थीले ‘अकुपेशन एण्ड टेक्नोलोजी’ विषयमा सिकेका कुरालाई हस्तकलामार्फत् प्रस्तुत गरे । त्यस्तै ८ देखि १० कक्षासम्मका विद्यार्थीले विज्ञानमा सिकेका सैद्धान्तिक ज्ञानलाई भरपूर प्रयोग गरे ।

विज्ञानका विद्यार्थीहरूले मोडल अफ हेण्डपम्प, हाइड्रोलिक क्रेन, मोडल अफ सिटी, रोवोट आइटम, सोलारपावरबाट बत्ति निकाल्ने विधि, डाइनामोबाट बत्ति निकाल्ने विधि, ज्वालामुखी, घरायसी सामग्रीबाट निर्माण गरिएको वाटर फिल्टरलगायतको प्रदर्शनी गरे । कक्षा ६ र ७ का विद्यार्थीहरूले भने विभिन्न हस्तकलाका सामग्री प्रदर्शनीमा राखेको स्कुलका भाइस प्रिन्सिपल खेमराज श्रेष्ठले जानकारी दिए ।

आफ्ना विद्यार्थीहरूले सिकेका कुरालाई व्यवहारमा कसरी लागू गरेका छन् भनेर अभिभावकहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको श्रेष्ठले बताए । कक्षामा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोगमा ल्याएको प्रिन्सिपल टिबी क्षेत्रीले बताए । क्षेत्रीका अनुसार विज्ञानका १५ वटा समूहमा विभाजन गरी अभ्यास गरिएको थियो । जसलाई विज्ञान शिक्षक विनिता राईले सहजीकरण गरिन् ।

यस्तो खाल्को कार्यक्रम पहिलो पटक गरिएको हो । यसअघि गरिए पनि प्रदर्शनीकै रूपमा नराखिएको क्षेत्रीले जानकारी दिए । स्कुलमा झण्डै ४ सयको हाराहारीमा विद्यार्थी अध्ययरत छन् भने ६ र ७ मा ५७ जना विद्यार्थी अध्ययरत छन् भने ८ देखि १० सम्म ८९ जना अध्ययरत रहेका छन् ।