ताप्लेजुङ /ताप्लेजुङमा शिक्षा, स्वास्थ्य, यातायात जस्ता सार्वजनिक सेवाका क्षेत्रमा विभिन्न विकृति बढेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको छ ।
सामुदायीक विद्यालयहरुमा नियमित पढाइ नहुने, शिक्षकहरु बढी अनुपस्थित हुने, यातायात व्यावसायीहरूले मनपरी भाडा असुल गर्ने जस्ता समस्या बढेको भन्दै अखिल क्रन्तिकारी र वाइसीएल नेपाल ताप्लेजुङले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । ६ बुँदे ध्यानाकर्षण पत्रमा सदरमुकाम फुङलिङबाट छुट्ने गाडीहरुले यात्रुबाट लिने गरेको भाडालाई अनुगमन गरि वैज्ञानिक भाडादर कायम गर्न माग गरिएको छ । त्यस्तै संविधानमै माध्यामिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क हुने व्यवस्था भएपनि विद्यालयहरुले विभिन्न वाहानामा शुल्क लिइरहेको उल्लेख छ । अखिल क्रान्तिकारीमा जिल्ला अध्यक्ष किरण लिङ्देनले विद्यालयहरुले परिक्षा शुल्क, रजिष्टूेसन शुल्क, मार्कसिट शुल्क जस्ता उपशिर्षकमा रकम अशुल्ने गरेको बताए । अध्यक्ष लिङ्देन र वाईसीएल नेपालका जिल्ला अध्यक्ष सुजन लिम्बूद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा संविधानको मर्म विपरीत विभिन्न क्रियाकलाप भइरहेकाले नियन्त्रण गर्नका लागि ध्यानाकर्षण गराएको उल्लेख छ । फुङ्लिङबाट विभिन्न स्थानमा छुट्ने यातायातका साधनमा व्यवसायीले मनोमानी भाडा असुल्दै आएकाले यसलाई नियन्त्रण गरी वैज्ञानिक भाडादर कायम गर्न माग गरिएको छ । ध्यानाकर्षण पत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले आफ्नो क्षेत्राधिकार भित्र रहेका विषयहरुलाई निरीक्षण तथा अनुगमन गरि सुधार गर्ने प्रतिवद्धता जनाए ।