धरान / देशभरका विभिन्न मेडिकल कलेजहरुमा अध्ययनरत हजारभन्दा बढी विद्यार्थी एवं चिकित्सकहरु बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भेला भएका छन् ।
मंसिर २९ गते देखि आठ दिनका लागि धरानमा जम्मा भएका हुन । प्रतिष्ठानको आयोजनामा सुरु भएको साईन्याप्स नाम दिइएको सप्ताहव्यापी कार्यक्रममा सहभागी हुन विद्यार्थी, चिकित्सक एवं आवासीय चिकित्सकहरु भेला भएका हुन । मंसिर २९ देखि विभिन्न खेलकुद तथा सांस्कृतिक एवं साहित्यिक गोष्ठी तथा समारोहहरु भइरहेकाृ कार्यक्रम आयोजक समितिका मिडिया संयोजक शुभम कुमार अग्रवालले जानकारी दिए ।

सन् २००६ देखि हरेक दुई बर्षमा आयोजना हुँदै आएको साईन्याप्समा देशभरका मेडिकल विद्यार्थीहरु सहभागी हुने र विभिन्न कार्यक्रमहरुमा प्रतिष्पर्धा गर्ने गरेका छन् । यसपाली कार्यक्रमको पहिलो दिन बिहान हुने वाल्काथन बाट औपाचारिक उद्घाटन भएको छ ।
समारोहको दोस्रो दिन पुष १ गतेदेखि अन्तिम दिन पुष ७ गतेसम्म विभिन्न साहित्यिक, खेलकुद र सांस्कृतिक प्रतियोगिताहरु गरिने कार्यक्रम छ ।

यसपटक साईन्याप्समा खेलकुदअन्तर्गत अन्तरकलेज क्रिकेट, फूटवल, भलिबल, बास्केटबल, फुटसल, क्रिक्सल, कबड्डि, टेबलटेनिस, ब्याडमिन्टन, चेस, एथ्लेटिक्स र मोबाईल तथा कम्प्युटर गेमहरुका छुट्टाछुट्टै प्रतियोगितहरु हुने आयोजक कमिटिका अध्यक्ष राजन सिंहले जानकारी दिए ।

त्यसैगरी साहित्यिक कार्यक्रमअन्तर्गत क्विज, स्पेलिङ बि, वक्तृत्वकला, वादविवाद, फोटोग्राफी, स्केचिङ र पेन्टिङ, सर्ट स्टोरी लेखन, निबन्ध लेखन, पुस्तक समिक्षा लेखन र कविताका प्रतिष्पर्धाहरु हुने आयोजकले जनाएको छ ।

हरेक दिन सांस्कृति तथा सांगीतिक कार्यक्रम भइरहेको छ । यसका साथै सांस्कृतिक कार्यक्रमअन्तर्गत अन्तरकलेज नृत्य र गायन प्रतिष्पर्धा, ब्याटल अफ ब्यान्ड्स, युट्युब सेन्सेसनजस्ता प्रतियोगिताहरु आयोजना गरिने छ । साताव्यापीको कार्यक्रमको अन्तिमदिन पुष ७ गते गायक सबिन राईले बृहत सांगितक कार्यक्रम तथा कन्सर्ट गर्ने छन् । कार्यक्रमलाई मेडिकल साइन्सका विद्यार्थीहरुको अहिलेसम्मकै सबैभन्दा बृहत समारोह भएको दावी समितीका सदस्य आशिष झाले गरेका छन् ।

यस बर्षदेखि प्राय सबै मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई विभिन्न प्रतियोगिताहरुका लागि तयार गरेकाले गत बर्षहरु भन्दा यो बर्ष खेल तथा अन्य कार्यक्रमहरुको स्तर बढ्ने र कार्यक्रमहरु निकै रोचक र प्रतिस्पर्धात्मक हुने कार्यक्रमका मिडिया संयोजक तथा प्रतिष्ठानमा एमबिबिएस चौथो बर्षमा अध्ययनरत शुभमकुमार अग्रवालले बताए ।