विराटनगर/ एउटा मञ्चमा हामीले एउटा प्रतियोगिता हुँदै आएको सुन्दै र देख्दै आएका छौ । तर, शनिबार साँझ विराटनगरमा भने एकै मञ्चमा तीन फरक–फरक स्पर्धा भए । जय मिडिया म्यानेजमेन्ट प्रालिले इटहरीको ओसियन पार्कमा चौथो संस्करणको मिस कोशी, दोस्रो संस्करणको मिसेज कोशी र दोस्रो संस्करणको मिस्टर कोशी प्रतियोगिता सम्पन्न गरेको छ ।
ब्रेनीलाई मिस कोशी
धरानकी ब्रेनी ताम्राकारले चौथो संस्करणको मिस कोशीको ताज पहिरिएकी छन् । फाइनलका स्पर्धीलाई पछि पार्दै उनले ताज चुमेकी हुन् । फस्ट रनरअप इटहरीकी सुस्मिता बिष्ट तथा सेकेण्ड रनरअप दुहबीकी निलिमा चौधरीले जिते ।
निलिमा मिस ट्यालेन्ट र मिस ब्यूटिफुलको टाइटल अवार्डसमेत हात पारिन् । टाइटलतर्फ मिस फोटोजेनिक चन्द्रकला कार्की घोषित हुँदा बेस्ट क्याटवट सृष्टि तिम्सिनाले जितेकी छन् । मिस कन्फिडेण्ट र मिस पपुलरको अवार्ड बिनिता अधिकारीले जित्दा मिस फ्रेण्डसिप हिमानी कर्णले प्राप्त गरिन् ।
सूचनालाई मिसेज कोशी
दोस्रो मिसेज कोशीको उपाधि मोरङको केराबारीकी सुचना श्रेष्ठ घोषित भएकी छन् । त्यस्तै फस्ट रनरअप विराटनगरकी खेमकुमारी कोइराला तथा मोरङ रतुवामाईस्थित गोविन्दपुरकी सुनिता लामाले सेकेण्ड रनरअप घोषित भइन् ।

सुनिताले मिस ट्यालेण्टको अवार्डसमेत प्राप्त गरिन् । मिसेस फोटोजेनिक खेमकुमारी कोइराला, मिसेस कन्फिडेण्ट ललिता विश्वास, मिसेस फ्रेण्डसिप सुनिला लामा, मिसेस पपुलर सुचना श्रेष्ठ नै घोषित बनेकी थिइन् ।
रिनेशलाई मिस्टर कोशी
दोस्रो संस्करण्को मिस्टर कोशीको उपाधि सुनसरी झुम्काका रिनेश नेपाल घोषित भए । फस्ट रनरअप झापा झिलझिलेका मुक्ति चेम्जोङ लिम्बू र सेकेण्ड रनरअप विराटनगरका सुमित भगत घोषित भए ।
मुक्तिले मिस्टर फोटोजेनिक र बेस्ट फ्रेण्डसिपको अवार्डसमेत हात पारे । मिस्टर हेण्डसम अबिशेक सुवेदी, मिस्टर कन्फिडेण्ट रिनेश नेपाल घोषित भए । मिस्टर स्माइल देव शर्मा, बेस्ट डिसिप्लिन दिपेश यादवले जिते ।
मिस्टर पपुलर र मिस्टर मल्टिमिडियाको अवार्ड रिनेश नेपालले प्राप्त गरे । दर्शकहरूलाई फरक स्वाद दिन एकै मञ्चमा फरक–फरक कार्यक्रम गरिएको जय मिडिया म्यानेजमेण्ट प्रालिका रनर जयराज रोयले बताए ।
मोडल जय शर्मा, मिस टिन इन्टरनेशन तथा मिस कोशीको पूर्व बिजेता सोनिता दाहाल, मोडल रन्जना गिरीलगायत निर्णायक थिए ।