धरान / नेपाल आईस मिस पूर्वाञ्चलको नवौ संस्करण शुरु भएको छ ।
अनलाइन तथा एसएमएसबाट प्राप्त फर्मका आधारमा छनौट भएकाहरूको अडिसनबाट १४ जना अन्तिम स्पर्धामा रहेको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । छनौट प्रतियोगीलाई प्रशिक्षकद्वय राजबिमल श्रेष्ठ र रबिन्द्र थापाले नेतृत्व विकास, मोटिभेसनसम्बन्धी प्रशिक्षण गराइरहेका छन् । कोरियोग्राफर तथा प्रशिक्षक प्रियारानी लामाले व्यक्तित्व विकास, फेशन, ¥याम्पवकबारे जानकारी गराइरहेकी छन् । मिस पूर्वाञ्चलको ग्राण्ड फाइलन पुष १४ गते धरानको होटल इजी राइडर्समा हुँदै छ ।
गत वर्षझैं यो वर्ष पनि बिना अडिसन मिस उर्लाबारी र मिस इटहरीलाई सोझै प्रवेश दिइएको छ । मिस इटहरी–२०१७ की तपस्या रनपहेली, मिस उर्लाबारी–२०१७ की रुसाली केसीसहित धनकुटा हिलेकी प्रजिता तामाङ, उर्लाबारीकी सबिना पोद्दार , तरहराकी तुलासा पोख्रेल, भद्रपुरकी पूजा श्रेष्ठ, सङ्खुवासभाकी सोनेता दहाल, धरानकी आकृति आचार्य, एजिना राई, अनिला क्षेत्री , सुचित्रा कार्की, विराटनगरकी मोनिका रेग्मी, धनकुटाकी स्वस्तिका बिसुङ्खे, बिर्तामोडकी सलिना राजबंशी छनौट भएका हुन् ।
नवौ संस्करणको लागि अनलाइन तथा एसएमएसबाट सय जनाभन्दा बढीले आवेदन दिएका थिए । सहभागीहरूले सामाजिक कार्य अन्तर्गत रक्तदान, ट्राफिक सचेतना , पर्यटन, सामाजिक सचेतना सद्भाव जगाउने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइनेछ । विजेताले यामाहाको स्कुटी र हङ्गकङ्ग भ्रमणको अवसर दिइने छ ।

त्यस्तै फस्ट र सेकेण्ड रनरअपले क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस मल्टी मिडिया, मिस इन्टलेक्चुअल, फेस अफ डिभाइन, भ्युअर्स च्वाइस लगायतका विभिन्न ८ वटा विधाका प्रतियोगीहरू १५ हजार नगद पुरस्कारको व्यबस्था गरिएको छ ।
बराह ज्वेलरी इण्डस्ट्रिज प्रालिको प्रस्तुति तथा नेपाल आइस बियरको मुख्य प्रयोजन र एनआइसी एसिया बैङ्क, डिभाइन वाइन, पुर्वाञ्चल लुब्रिकेन्ट्स, एमएडब्लु इन्टरप्राइजेज, सुबिसु केवल, बुद्ध एयर, युएन नवोदय कलेज, बरुण बेभरेज, क्विक्स र वाइवाइको प्रायोजन रहेको छ । मिस पूर्वाञ्चल २०१० बाट शुरु भएको हो ।