धनकुटा/ अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर भेडेटारमामा सातौँ भेडेटार फुड फेष्टिवल हुने भएको छ ।
होटल एसोशिएसन भेडेटारले बुधबार पत्रकार सम्मेलन गरी फेष्टिवल पौष १६ देखि १८ गतेसम्म हुने जानकारी दिएको हो । फेष्टिवलमा ३० वटा स्टल रहने छन् । होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले फेष्टिभलभरी पर्यटकहरूलाई खानामा १० प्रतिशत र बस्नमा १५ प्रतिशत भेडेटारमा रहेका सम्पूर्ण होटलहरूले छुट दिने भएको छ ।
फेष्टिवलमा प्याराग्लाइडिङ, साइक्लिङ र र्याफ्टिङको प्याकेज रहेका छन् । फेष्टिवलमा भेडेटार आसपासको क्षेत्रहरू नाम्जे, ध्वजेडाँडा, हाइकिङ, राजारानी ताल, ओख्रे भ्यूटावर, जेफाले भ्यु–टावर, आत्मा घर, शैलुङडाँडा, सिम्सुवा झरना, नाम्जे गाउँ होमस्टे, तमोर नदी र रानी तालमा फिसिङ प्याकेज रहेको अध्यक्ष राईले बताए ।
फेस्टिवलमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रर्दशनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरू राखिने छन् । फेष्टिवलमा ३० हजार आन्तरिक तथा वाह्य पर्यटकहरू भित्र्याउने योजना रहेको बताए ।

फेस्टिवलमा १ करोड बराबरको आर्थिक कारोबार गर्ने योजना रहेको होटल एसाेशियसनका निवर्तमान अध्यक्ष लिलाराज लावतीले बताए । फेस्टिवलमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, गरिमा डान्स सेन्टर धरान र स्थानीय स्तरका कलाकारहरूको गीत तथा नृत्यहरूको बेजोड प्रस्तुति रहेने बताइएको छ ।
फेस्टिवलमा आउने पर्यटकहरूले नजिकैका पर्यटकीय क्षेत्र जस्तै साँगुरी यक, पाथीभरा मन्दिर, शङ्खेश्वर महादेवको मन्दिर, नाम्जेबजार, शैलुङ डाँडा, आत्म बस्ने घर थुम्की, थाउजेण्ड विग बुद्ध, अजङ्गको वरको रुख, सूर्योद्धय बौद्धविहार गुम्बाको दर्शन गराइने भएको छ ।