पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरेनगरपालिका वडा नम्वर-२ का जनप्रतिनिधिहरुले आफ्नो वडामा सञ्चालन एवम् व्यवस्थापनको संकटमा परेको विद्यालयलाई उकास्ने लागिपरेका छन् ।
यस क्रममा पछिल्लो पटक वडाका पाँचैजना प्रतिनिधिले आफ्नो भत्ताको रकमबाट सरस्वती आधारभूत विद्यालयका सबै विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गर्दै सहयोगको न्यानोपन बाँढेका छन् । त्यहाँ अध्ययनरत ५० जना विद्यार्थीलाई १५ हजार रुपैयाँ बराबरको एक एक थान स्वीटर प्रदान गरेका हुन् ।
नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यतामा स्वीटर वितरण भएको छ । उपप्रमुख वास्तोलाले समस्यामा परेका सामुदायिक विद्यालय र पछि परेका विपन्न समुदायका लागि नगरपालिकाले समेत सहयोग पुर्याउने बताइन् ।
आफुले पनि भत्ता वापतको रकमबाट ३ नम्वरको चन्द्रकिरातेश्वर माविमा सहयोग पुर्याएको जनाउँदै वडाका जनप्रतिनिधिहरुले पनि यसखाले काम गर्नु प्रसंशनीय भएको उनको भनाई छ । वडाध्यक्ष यामप्रसाद गुरागाई, सदस्य अरुणा राई, अग्नी गुरुङ, सीता भुसाल र पर्शुराम न्यौपानेले १५ हजार रुपैयाँ बराबरको स्वीटर किनेर विद्यालयलाई लगाइदिने काम भयो ।
यस अघि उनीहरुले ६० हजार रुपैयाँ बढीको भौतिक सामग्री खरिदमा सहयोग गरेका थिए । उनीहरुले घर घरमा गएर विद्यार्थीहरुलाई सो विद्यालयमा ल्याई स्रोत जुटाएर अग्रेजीमाध्यममा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान सञ्चालन गरे ।
चौतारी सामुदायिक वनले एकजना शिक्षकको तलब व्यहोरेको छ । विद्यार्थीलाई सिटी सफारीमा विद्यालय ल्याउने प्रबन्ध समेत गरिएको छ । ‘बोर्डिङमा पढाई राम्रो हुन्छ भनेर उतै विद्यार्थी लगेपछि यहाँ त २८ जना विद्यार्थी मात्रै थिए ।’– वडाध्यक्ष गुरागाईंले भने ‘हामीले जनप्रतिनिधिले गुणस्तरीय शिक्षामा जोड दिदै व्यवस्थापनमा सघाएपछि विद्यार्थी बढेर ५० जना भएका छन् ।’
चालु शैक्षिकशत्रको शुरुमै कक्षा १ देखि ५ सम्मका २८ विद्यार्थीका लागि झोला, कापी, कलम, बाल कक्षाका १७ जनालाई झोला, पोशाक, कापी, कलम समेत जनप्रतिनिधिहरुले आफ्नै खर्चमा प्रदान गरेर विद्यार्थीलाई प्रोत्साहित गरेका थिए ।
बाल कक्षाको व्यवस्थापन, अध्ययन सामग्री, कार्पेट, टेबल खरिद तथा सिटी सफारीमा विद्यार्थी ओसारपसारमा समेत गरी ५ जना जनप्रतिनिधिबाट ६० हजार बढी रुपैयाँ खर्च भएको गुरागाईंले सुनाए ।
शिक्षकको ४ वटा दरबन्दी छ । दरबन्दी नभएको बाल शिक्षिकालाई नगरपालिकाले र कार्यालय सहयोगीलाई स्थानीयले खर्च व्यहोरेर पठनपाठन चुस्त बनाएका छन् ।
विद्यार्थीलाई विद्यालय जान प्रोत्साहित गर्ने अभियानका क्रममा वडा सदस्य पर्शुराम न्यौपानेले वडाको सरस्वती आधारभूत विद्यालयमा टेलिभिजन खरिदका लागि आफ्नो १२ वटा बैठक भत्ता वापतको १० हजार रुपैयाँ प्रदान गरेका छन् ।
शिक्षामा सुधार गर्ने उदेश्यले स्थानीय नव ज्योति बाल क्लवले बालविकास कक्षा सञ्चालनमा प्रोत्साहन गर्न टेलिभिजन खरिदका लागि २० हजार रुपैयाँ दिने निर्णय गर्यो । वडा सदस्य न्यौपानेले त्यसमा आफ्नो सेवा सुविधाको रकम थप गरेर हस्तान्तरण गरेपछि टेलिभिजन खरिद हुन पाएको छ ।
०३८ सालमा स्थापना भएको सो विद्यालय पछिल्लो समयमा विद्यार्थीको अभाव र भौतिक व्यवस्थापनको संकट भएपछि जनप्रतिनिधिहरु लागि परेर विद्यार्थी संख्या दोब्बर मात्र बनाएनन्, गुणस्तरीय शिक्षाका लागि बालविकासदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यमको पठनपाठनपनि यो वर्षबाट अघि बढाए ।
उता, वडा नम्बर १० का जनप्रतिनिधिहरुले पनि सञ्चार खर्चबापत आफुहरुले पाउँने रकम जम्मा गरेर सो वडाको जालपा सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई पठनपाठन र व्यवस्थापकीय पक्षमा सघाउने निर्णय गरेका छन् ।
जसमा वडाध्यक्ष सागर राई, सदस्य मनकुमारी विश्वकर्मा, मैनादेवी आचार्य फुयाँल, अनोज घिमिरे र जंगबहादुर राईले २८ हजार रुपैयाँ जम्मा गरेर सहयोग गर्ने भएका हुन् ।
वन समूहबाट पनि स्वीटर
सीताछधारे सामुदायिक वन उपभोक्ता समूहले वडा नम्वर ९ मा रहेको आदर्श सीता आधारभूत विद्यालयलाई ४६ थान स्वीटर, ४६ जोर जुत्ता र मोजा दिने निर्णय भएको प्रधानाध्यापक चन्द्रकान्त भट्टराईले जनाए । ‘विद्यार्थी संख्या घटेर समस्या भएका सामुदायिक विद्यालयहरुका लागि यस्ता सहयोगले ज्यादै प्रभाव पार्छ ।’– उनले खुसी व्यक्त गरे ।