धरान / हास्य कलाकार गणेश इसाराले ‘प्रधानमन्त्री केपी शर्मा ओली’ को रूप धारण गरेर दर्शक हसाएका छन् ।

धरानबाट शुरु गरेको ‘गणेश इशारा अल नेपाल एकल कमेडी शो’ मार्फत् दर्शकलाई हसाएका हुन् । उनले सरकार नै बिरामी भएको सङ्केत गर्दै व्यङ्ग्य गरे । राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामा पानस गुरूङले भूमिका खेलेकी थिइन् । प्रधानमन्त्री र राष्ट्रपतिबीचको वार्तालाममार्फत् देशप्रतिको चिन्ता व्यक्त गरिएको व्यङ्ग्य गरिएको थियो । त्यसक्रममा प्रधानमन्त्रीका सल्लाहकार बनेका ज्याक गुरुङले दर्शक हसाएका थिए । होचा कदका उनी बारम्बार फोन आएको सङ्केत गर्थे । तर, राष्ट्रपतिसँगको वार्तालापका कारण उनी फोनसमेत रिसिभ गर्दैनथे ।

त्यसक्रममा गायक टीका बम्जन ले दर्शकहरूलाई गीतमार्फत् मनोरञ्जन गराए । नेपाल आर्मीमा रहँदा एम्बुसमा परेर दुवै हात गुमाएको गायक बम्जनले मनोरञ्जन गराए । त्यस्तै आयोजक पूर्वाञ्चल बागिना कला केन्द्र धरानका अध्यक्ष एव्म गायक भक्तिराज राईले पनि दर्शकहरूलाई मनोरञ्जन गराए । कार्यक्रममा गायक सन्तोष ओमेगा, समिर सिङ्गक, शिव थापा मगर, दीपेन राईलगायत कलाकारहरूले मनोरञ्जन गराएका थिए ।

धरान–८ स्थित सभागृहमा भएको कार्यक्रमको उद्घाटन ब्लाष्ट टाइम्स दैनिकका प्रधानसम्पादक राजकुमार कार्की, समाजसेवी कृपा राईलगायतले गरेका थिए । समाजसेवी वीरमाया राई (शोभोमा) को जन्मजयन्तीको अवसर पारेर अक्षयकोष सङ्कलनार्थ कार्यक्रम गरिएको हो । अक्षयकोषको ब्याजबाट हरेक वर्ष गरिब तथा विपन्न विद्यार्थीहरूको अध्ययनमा खर्च गरिने कलाकार इशाराले बताए । धरानबाट शुरु गरिएको कार्यक्रम उदयपुरको बेल्टार, सङ्खुवासभाको खादबारी, पोखरा, बुटबल र काठमाडौंमा गरिने उनले जानकारी दिए ।